चोरी भएको छिन्नमस्ताको मुकुट भेटियो, एकजना पक्राउ

सदरलाइन संवाददाता १८ श्रावण २०७८, सोमबार १३:२६
 

सप्तरी : छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति करिब ७ः०० बजे सरसफाइका लागि मन्दिरका पुजारी पोखरीबाट पानी लिन गएका बेला मुकुट चोरी भएको थियो ।

चोरी गरेका मण्डलले बिहान आफैँले मुकुट ल्याएको र मन्दिर स्थापना गर्ने भन्दै गाउँमा हल्ला गर्दै हिँडेको स्थानीयवासी जयप्रकाश यादवले बताए । मण्डलसहित ७५० ग्रामको चाँदीको मुकुट, सुनको टीका र नथिया बरामद गरी मण्डललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

चोरीको घटना बाहिरिएपछि आइतबार राति नै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी उपरीक्षक धमलासहितको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले तत्कालै पूजाको पालोमा रहेका तीन पुजारीलाई नियन्त्रणमा लिएको थियो । चोरीको अनुसन्धानका लागि राति नै सीमानाकालाई समेत सिल गरिएको थियो ।


मन्दिरमा सिसीटिभी जडान भए पनि तार काट्ने, क्यामेरा फुटाउने कामले गर्दा मन्दिर अहिले सिसीटिभीको निगरानीमा छैन । मन्दिरको संरक्षणमा लापर्वाही भएको भन्दै मन्दिरमा भेला भएका स्थानीयवासीले रातिदेखि नै चर्को विरोध गरिरहेका छन् ।

मन्दिरका पीठाधीश महाकान्त ठाकुरका अनुसार सफाइका क्रममा नभेटिएपछि मुकुट चोरी भएको खुलेको हो । मन्दिरका मूल पुजारी उमेश ठाकुरका छोराको मृत्यु भएका कारण सात दिनयता मन्दिरको सरसफाइ र नियमित पूजा स्थानीय ब्राह्मणले गर्दै आएका थिए ।

मुकुट ८ सय ५० ग्राम तौलको छ । मन्दिरमा राखिएको सीसीटीभी क्यामेरा असारदेखि बिग्रिएको छ । सीमा सिल गरी मुकुटको खोजी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोमवार बाँकेमा २६ जनामा कोरोना पुष्टि, ५ डिस्चार्ज

१८ श्रावण २०७८, सोमबार १३:२६
नेपालगञ्ज : बाँकेमा सोमवार थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १५२ नमुना परीक्षण गर्दा थप २६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीको प्रयोगशालामा ८९९ नमुना परीक्षण गर्दा १२, मेडिकल कलेज कोहलपुरमा ३७ नमुना परीक्षण गर्दा ११ र बागेश्वरी प्रयोगशालामा २६ […]