नेपालगञ्ज : देशभरमा सबैभन्दा बढी बर्षा नेपालगन्जमा भएको छ । आइतवार बिहान ३ बजेदेखि नेपालगञ्जमा लगातार भारी बर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा हुने समय लम्बिएको छ । महाशाखाले आइतबारदेखि मंगलबारसम्म तीन दिन नेपालमा समान्यदेखि अतिभारीसम्म वर्षा हुने जनाएको छ ।
महाशाखाले मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको जनाउँदै तराई भेगमा यो समयमा बढी पानी पर्ने प्रक्षेपण गरेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।