निर्वाचन आयोगद्वारा मध्यावधी निर्वाचनको कार्यतालिका सार्वजनिक

सदरलाइन संवाददाता २१ असार २०७८, सोमबार १८:०१
 


काठमाण्डौ : निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले अगामी कात्तिक २६ र मंसिर ३ गते तय गरिएको मध्यावधी निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो ।

विपक्षी दलहरूले प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ जारी रहेका बेला आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

सर्वोच्चमा पक्ष विपक्षका वकिलले बहस सकेपछि एमिकस क्युरीले सोमबार सुझाव दिइरहेका छन् । सर्वोच्चले जेठ ८ मा भएको प्रतिनिधिसभा विघटनबारे एमिकस क्युरीको सुझाव सुनिसकेपछि फैसला दिनेछ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिकामा यही असार ३१ गतेदेखि निर्वाचन अवधि सुरु हुनेछ । असार ३१ मै दल दर्ताको सूचना निकाल्ने योजना आयोगको छ । आयोगले मध्यावधी निर्वाचनका लागि आगामी भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्ययोजना बनाएको छ ।


आयोगले कात्तिक २६ मा हुने पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता मिति असोज २० गते देखि २१ गतेसम्म तोकिएको छ । असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर त्यहीदिन चुनाव चिन्ह दिइने आयोगले जनाएको छ । मंसिर ३ मा हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता मिति असोज ३१ देखि कात्तिक १ गतेसम्मलाई तोकिएको छ ।

आयोगका अनुसार कात्तिक १ गते उम्मेदवारी मनोनयन पत्र दर्ता भएको सूची निकालिनेछ । कात्तिक ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर त्यही दिन उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरिने कार्यतालिका सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा भेरोसेलको दोस्रो डोज आज लगाईंदै

२१ असार २०७८, सोमबार १८:०१
नेपालगञ्ज : बाँकेमा मंगलवार कोरोना भाइरसबिरुद्धको चिनिया खोपभेरोसेलको दोस्रो मात्रा लगाइँदै छ । स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माका अनुसार मंगलवार जिल्लाका सबै स्वास्थ्य संस्थाबाट भेरोसेलको दोस्रो मात्रा लगाउन लागिएको हो । गएको जेठ २६ गते पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिन लागिएको खोप अधिकृत शर्माले जानकारी दिनुभयो […]

सम्बन्धित