होम आईशोलेशनमा बसेका कोरोना संक्रमित भन्छन :

‘वडा अध्यक्ष चिकित्सकसहित घरमै पुग्दा कोरोना जित्न सहज’

सुनिता बर्मा २६ जेष्ठ २०७८, बुधबार १७:१०
 
 फाइल फोटो
फाइल फोटो

नेपालगञ्ज : सामुदायस्तरमा फैलिएको कोरोनालाई नियन्त्रण गर्ने उद्देश्यका साथ नेपालगञ्ज–१८ का जनप्रतिनिधिको पहलमा सुरु गरेको संक्रमितको घरदैलोमै चिकित्सकसहितको स्वास्थ्य उपचार, औषधि किट, र निशुल्क एम्वुलेन्स सेवा प्रभावकारी भएको पाईएको छ ।

कोरोना संक्रमणको दोस्रो भेरियन्ट सुरु भएसंगै संक्रमणको चपेटामा परेकी नेपालगञ्ज–१८ प्रगतिनगरकी ३२ वर्षिया गौरी थापा कोरोना संक्रमित भईन । संक्रमित भएपछि होम आइशोलेशनमा बसेकी उनी आफुलाई कस्तो हुने हो मानसिक तनाबमा रहेको बेलामा वडाका जनप्रतिनिधिसहित घरमै चिकित्सक पुग्दा अबत पक्कै पनि बाँचिन्छ भन्ने आशा पलाएको बताईन ।

‘अचानक ज्वरो, हल्का खोकीले सतायो औषधी खाँए सन्चो नभएपछि पीसीआर चेक गराउँदा रिर्पोट पोजिटिभ आयो, के गर्ने के नगर्ने भनेर मन अत्तियो, टोलबस्तीकाले थाहा पाए भने कस्तो व्यवहार गर्लान, बाँच्छु की मर्छु जस्ता अनेक प्रश्नहरु मनमा खेल्न थाले अस्पतालमा शैया र अक्सिजनको अभाव छ घरमा बसौ भने अरुलाई सर्छ की भन्ने डर कै बीचमा होम आइशोलेसन बसे, त्यसै बेला वडाबाट जनप्रतिनिधि डाक्टरसहित घरमै आएपछि ठूलो साहस आयो’–उनले एकै सासमा भनिन् ।

नेपालगञ्ज–१८ प्रगतिनगरमा बस्ने ४० वर्षिय सागरप्रसाद शर्मा बैशाखको दोस्रो सातामा विरामी परे, औषधि किनेर ४ दिनसम्म खाए सन्चो नभएपछि स्थानीय मेडिकलमा पुगेर जाँच गराउद टाइफाईड भएको नतिजा आयो तर, औषधि नखाई उनी पीसिआर जाँच गराए नतिजा पोजेटिभ आयो अस्पतालमा जाँदा बस्ने ठाउँ थिएन घरमै अलग्गै बसे ।

‘आफु कोरोना संक्रमित भएको रिर्पोट आएपछि आँखा रसायो घरको सबै जिम्मेवारी म माथि छ मलाई केही भयो भने बच्चाहरुको भविष्य के हुन्छ ? घर कसरी चाल्छ सोचेर धेरै दुखी भए अस्पतालमा जादा बेड खाली छैन जसो तसो मनलाई सम्हालेर होमआइशोलेशन बसे’–उनले भने–‘एक दिन वडा अध्यक्ष दीपक बर्माले, डाक्टर, नर्स सहितको टोली लिएर घरमा आए उनीहरुले मलाई चेकजाँच गरे असहज हुँदा अपनाउनु पर्ने तौर तरिका खानपान र औषधिको बारेमा जानकारी गराउनुभयो यसले मलाई कोरोना जित्न ठूलो मद्दत पुग्यो ।

नेपालगञ्ज– १८ लग्दहवा ३६ वर्षिया श्यामा विश्वकर्मा पनि कोरोना संक्रमित भईन । आफु संक्रमित भएको रिर्पोट थाहा पाउदा आफु र आफ्नो परिवारमाथि ठूलो बज्रपात परेको ठाने लक्षण चिन्हसहितको संक्रमणको कारण आफुलाई असहज भएको महशुस हुँदाहुँदै पनि डर र त्रासको बीचमा होम आईशोलेशनमै बसिन ।

उनले भनिन्–‘एकदिन अचानक खाने कुराको स्वाद हरायो, शरीर कमजोर भएको अनुभव भयो काम गर्न गह्रौ भएपछि औषधि ल्याए खाए सन्चो भएन फेरी पीसीआर चेक गराए रिर्पाट पोजिटिभ आयोे, म सँग थप उपचारको लागि पैसा थिएन ,यस्तो अवस्थामा उपचारको लागि कोसँग पैसा माग्ने ? कोरोना संक्रमितको मृत्यु भइरहेको खबर सुनिरहँदा म बाँच्दैन की जस्तो पनि लाग्यो र पैसाको अभावमा बाध्य भएर होम आइशोलेशन बसे ।’


बैशाखको अन्तिम सतामा नेपालगञ्ज उपमहानगरमा कोरोना संक्रमणको हटस्पट बन्न पुग्यो सबै वडाहरु प्रभावित भए । शर्मा थापा र विश्वकर्मा जस्तै सो वडाका ८७ वटा घरमा पुगेर नेपालगञ्ज–१८ ले संक्रमितको अवस्था बुझ्न जाने निधो गर्दै वडा अध्यक्ष दिपक बर्मा, सदस्य दिग्बिजय ढुंगानको टीमले डाक्टर नर्स सहितको टोली घर–घरमा पुगेर चेकजाँच गरेर आवश्यक औषधि दिने कार्यको सुरु गरे । जसको कारण होम आईशोलेशनमा बसेकाहरुको मनोबल बढ्नुको साथै कोरोना जित्नको लागि मद्दत पुग्यो ।

‘छरछिमेक बोल्न समेत डराइरहेको बेला एक्कासी औषधि सहित डाक्टर लिएर वडा अध्यक्ष बर्माको टोली घरको आँगनमा पुग्दा अभिभावक पाएको अनुभव भयो’–थापाले भनिन । कोरोना संक्रमितलाई आफन्तको माया, वडाको सहयोग, डाक्टरको सल्लाह सुझाव, र टोलको राम्रो व्यवहार भएपछि बचाउन सकिने उनले आफ्नो अनुभव सुनाईन ।

नेपालगञ्ज–१८ का वडा अध्यक्ष दिपक बर्माले वडामा कोरोना संक्रमितको संख्या अप्रत्याशितरुपले बढ्दै जाँदा वडाका जनताको ज्यूज्यानको सुरक्षाको लागि वडाबाट सक्दो पहल गरिएको बताए । उनले दोस्रो भेरियन्टको कोरोना संक्रमणको बेलामा लक्षण चिन्ह देखिएका संक्रमित वडामा धेरै भएपछि अक्सिजन सुबिधाको एम्बुलेन्स आफ्नै पहलमा निशुल्क रुपमा सञ्चालन गर्नुको साथै औषधिलगायतको व्यवस्था गरेको बताए ।

‘समुदायस्तरमा फैलिएको कोरोनालाई नियन्त्रण गर्न र अस्पतालमा देखा परेको शैया र अक्सिजन लगायतको अभावका कारण घर घरमा स्वास्थ्य सेवा पु¥याउँदा कोरोना संक्रमितको जीवनलाई बचाउन सहयोग पुग्छ कि भनेर संक्रमितको घरदैलोमै चिकित्सकसहितको स्वास्थ्य उपचार, औषधि किट, र निशुल्क एम्वुलेन्स सेवा उपल्ब्ध गराएका हौ’–वडा अध्यक्ष बर्माले भने ।

माथी उल्लेख गरिएका ३ जना कोरोना संक्रमित जस्तै वडाका ८७ वटा घर परिवारमा वडा अध्यक्ष बर्मा, डाक्टर र नर्स सहितको टोली पुगेर १ सय २७ जना कोरोना संक्रमितको चेकजाँच गरी अवस्था बुझी औषधिको किट दिएको वडा सदस्य दिपक ढुंगानाले जानकारी दिए । उनले भने–‘वडा १८ मा ४ सय ४१ जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको थियो जसमध्ये ४ सय ३५ जनाले कोरोना संक्रमणलाई सहजै परास्त गरे र बाँकी ६ जना अहिले सक्रिय संक्रमित छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साहु समाजद्वारा शनिबार रक्तदान गरिने

२६ जेष्ठ २०७८, बुधबार १७:१०
नेपालगञ्ज : साहू समाज जिल्ला कार्य समिति नेपालगञ्ज बाँकेले कोरोना कहरको बेलामा उपचारमा रगतको अभाव हुन नदिने उद्देश्यले आगामी जेष्ठ २९ गते शनिवार रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । साहू समाज जिल्ला कार्य समिति र साहू समाज युवा जिल्ला समितिको बैठकमा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । […]

सम्बन्धित