नेपालगञ्ज : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई करिव २५ लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री उपलब्ध भएकोे छ । युके एडको आर्थिक सहयोग, सेभद चिल्ड्रेनको कन्र्सोटीयम लिडमा केयर नेपाल र भेरी बाताबरणिय विशिष्ठता समुह बि–ग्रुपको साझेदारीमा विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध भएको हो ।
बि–ग्रुपका निर्देशक डम्बर सुनारले केयर नेपालसंगको साझेदारीमा अक्सिजन कन्सन्ट्रेटर ४ थान, हातधुने सावुन, पल्स अक्सिमिटर, डेथबडी ब्याग, डिस ईन्फेक्सन पाउडर, पिफोम, सर्जिकल मास्क एन९५ मास्क, हेण्ड सेनिटाइजर, आईसोलेशन किट, महिला पुरुष, डिग्नीटी किट लगायतको २४ लाख ६१ हजार ६ सय ६१ रुपैया बराबरको सामाग्री हस्तान्त्रण गरिएको जानकारी दिए ।
बाँकेमा कोरोना संक्रमणको दर अप्रत्याशित रुपमा बृद्धि भएपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न सहयोगी निकायले सहकार्य गर्दै आएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जानकारी दिए ।
उनले पछिल्लो समयमा केयर नेपाल र बिग्रुपको साझदारीमा अक्सिजन कन्सन्टेटर ४ थानसहितको स्वास्थ्य सामाग्री उपलब्ध भएको बताउदै महामारी रोकथाम तथा नियन्त्रणको लागि सबै क्षेत्रको सहकार्यले मात्र संभव हुने बताए ।
बाँकेमा बैशाख महिना सुरु भए लगत्तै अप्रत्याशित रुपले बृद्धि भएको कोरोना संक्रमण नियन्त्रणको लागि अक्सिजनको माग अधिक रहेको बेलामा प्राप्त भएको अक्सिजन कन्सन्ट्रेटरले संक्रमितको उपचारमा ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ । सो अवसरमा सेभद चिल्ड्रेनका कार्यक्रम संयोजक दिपेन्द्र ठकुरी जिल्ला सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।