काखमा नानी च्यापेर साक्षरता कक्षामा सहभागी हुँदै किंगरियन बुहारीहरु

रुद्र सुवेदी ११ माघ २०७८, मंगलवार १५:०१
 


नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडानं २२ किंगरियनपुरवाकी यास्मिन बानोको दिनचार्य अजकल फेरिएको छ । अघिपछिका दिनमा घरमै बसेर बालबच्चा हेर्ने र चुलो चौको गरेर दिन बिताउने उनी आजकल साढे ३ वर्ष, डेढ वर्ष र ६ महिनाका तीनवटा बच्चा काखमा च्यापेर साक्षरता कक्षामा साक्षर हुन आउने गरेकी छन् ।

नेपालगञ्ज उप–महानगरपालिकाले आगामि फागुन मसान्त भित्र साक्षर नेपालगञ्ज घोषणा गर्ने अभियान सञ्चालन गरेपछि गत पुस महिनादेखि उनी साक्षरता कक्षामा सहभागि हुने गरेकी हुन । विपन्न र सिमान्तकृत समुदायकी यास्मिन आफु साक्षर नभए उपमहानगरले दिने सामाजिक सुरक्षा भत्ता कटौती गर्ने साथै अन्य सेवा सुविधा पनि रोकिदिन्छ भन्ने सुनेर साक्षरता कक्षामा सहभागि भएको बताईन ।

उसो त अहिले पनि उनी घरको सबै काम सकेर मात्र साक्षरता कक्षमा आउने गरेकी हुन । २३ औ बसन्त काटेकी यास्मिन आजसम्म विद्यालयमा पाईलो टेक्न नपाएको गुनासो गर्दै भनिन–‘ पहिला पढ्न जान पाईन । गरिवीको कारण साँझ विहानको गर्जो टार्न गाह्रो भएकोले आमा बुवाले पढाउनु भएन । विबाह झनै पढ्न पाउने कुरै भएन । सानैदेखि आफ्नो नाम लेख्ने र पढ्ने रहर थियो । उपमहानगरले साक्षरता कक्षामा सहभागि बनाएर पुरा गरिदियो ।’ उनी साक्षरता कक्षामा सहभागि भएर आफ्नो नाम लेख्न र पढ्न सक्ने हुन्छु भन्ने कुराले आफुमा खुशीको सीमै नभएको उनको भनाई छ ।

यास्मिनसंगै उनकै छिमेकी २२ वर्षिया कुस्नुमा किंगरिया ७ महिनाको छोरो काखमा च्यापेर साक्षरता कक्षामा सहभागि भएकी छन् । उनी पनि उपमहानगरले दिएको अभ्यास पुस्तिकामा अक्षर लेख्ने अभ्यास गर्दै आफ्नो कुरा भन्छिन–‘पहिला विद्यालय गए तर, नपढी फर्किए । हिजोको दिन सम्झदा आफुलाई अहिले पछुतो लागेर आउछ । हिजो नपढेकोले आज साक्षरता कक्षामा सहभागि भएर पढ्न सिक्दै छु ।’

काखमा ७ महिनाको छोरी च्यापेर साक्षरता कक्षामा आएकी १९ वर्षिया शिबुन किंगरियाले उपमहानगरले ४५ दिनको मात्र कक्षा सञ्चालन गरेर आफुहरुलाई आफ्नो नाम लेख्न र पढ्न सक्ने बनाई दिएर आफुलाई ठूलो गुण लगाई दिएको बताईन । उनले भनिन–‘ पढ्न लेख्न नजान्दा औठा छाप भनेर हेपाई सहनु पथ्र्यौ । बैंक जाँदा, अड्डामा जाँदा ल्याप्चे लगाउछु भन्दा अरुले छुट्टै नजरले हेर्थे तर, अब भने अपहेलित हुन पर्दैन । किनकी साक्षरता कक्षामा सहभागि भएर आफ्नो नाम लेख्न सक्ने हुदैछु ।’

माथी उल्लेख भएका यास्मिन, कुशनुमा र शिबुन त किंगरियन पुरवाका प्रतिनिधि पात्रमात्र हुन । उनीहरु जस्ता धेरै किशोरी महिलाहरु विद्यालय जान नपाई निरक्षर रहेका थिए । उपमहानगरले साक्षर नगर घोषणा गर्ने अभिायन सञ्चालन गरेर उनीहरु जस्तालाई साक्षर बनाउन कक्षा सुरु गरेको हो ।

साक्षरता कक्षामा आएका उनीहरुलाई उपमहानगरले अभयास पुस्तिका, पेन्सिल, ईरेजर, कटरजस्ता सामाग्री उपलब्ध गराएको छ । उनीहरुले कक्षामा सहभागि हुनेलाई खाजाको व्यवस्था गर्नु पर्ने माग राखेका छन ।


आगामी फागुन महिना भित्र नेपालगञ्ज उपमहानगरलाई साक्षर नगर घोषणा गर्ने कार्यक्रमको तयारी तीब्र पारिएको छ । कोरोना संक्रमणका कारण पछाडि पर्दै गएको अभियानलाई स्वास्थ्यका मापदण्ड अपनाएर २०७८ फागुन मसान्त भित्र सम्पन्न गर्ने योजनाका साथ तयारी अगाडि बढाईएको नेपालगञ्ज उपमहानगरका उप प्रमुख उमा थापा मगरले बताईन ।

उनले विभिन्न कारणले गर्दा शिक्षामा केही पछाडि परेको टोल बस्तीमा विषेश कक्षा सञ्चालन गरिएको जानकारी दिदै भनिन–‘ उपमहानगरले फागुण मसन्त भित्र साक्षर नगर घोषणा गर्ने गरी अभियान सुरु गरेको छ । खास गरी अत्यन्तै विपन्न, लोपोन्मुख तथा सिमान्तकृत समुदायलाई साक्षर बनाउन आफुहरुको विषेश फोकस हुने छ ।’

उनले उपमहानगरले किंगरिया, माहुत, मगन्ता, कुच्बधिया जस्ता लोपोन्मुख, विपन्न, तथा सिमान्तकृत समुदायका महिला र पुरुष दुबैलाई लक्षित गरी उनीहरुलाई अनिबार्य सहभागि गराउने गरी साक्षरता कक्षा सञ्चालन गरेको जानकारी दिईन ।

नेपालगञ्ज उपमहानगरमा रहेका करिव १५ हजारलाई साक्षर बनाउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको उपमहानगरका प्रमु्ख कार्यकारी अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिए । उनले यसका लागि उपमहानगरका प्रारम्भिक बाल विकास केन्द्रका शिशिकालाई साक्षरता कक्षा सञ्चालनको तालिम दिएर कक्षा सञ्चालन गर्दै आएको बताए । उनले कक्षा सञ्चालनको लागि आवश्यक अभ्यास पुस्तिका, स्वास्थ्य सामाग्री, पेन्सील, ईरेजर जस्ता सामाग्री उपमहानगरले निशुल्क उपलब्ध गराउदै आएको बताए ।

नेपालगञ्जका विभिन्न १ सय ३० स्थानमा साक्षरता कक्षा सञ्चालनमा रहेको उपमहानगरका शिक्षा अधिकृत लोकेन्द्र शाहीले जानकारी दिए । उनले कतिपय स्थानमा बालविकास केन्द्रका शिक्षिकाले सञ्चालन गरेको कक्षामा पुरुषहरु सहभागि हुन हिचकिचएपछि पुरुषका लागि माग भएसम्मका थप २० कक्षा सञ्चालन गर्ने तयारी गरिएको बताए ।

यसैबीच नेपालगञ्ज उपमहानगरबाट साक्षरता अभियान अन्तरगत विभिन्न स्थानमा सञ्चालन भएका कक्षाहरुको स्थलगत अवलोकन गरिएको छ । उपप्रमुख थापामगरको नेतृत्वमा प्रमुख प्रशाशकिय अधिकृत सुवेदी शिक्षा शाखाका शिक्षा अधिकृत लोकेन्द्र शाहीलगायतको टोलीले वडा नं. २२ को किंगरियन पुरवा, वडानं १८ को कारकाँदो, वडा नं. २० को महनापुरमा सञ्चालन भएको साक्षरता कक्षाको स्थलगत अवलोकन गरिएको थियो । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘मानव बेचविखनबिरुद्धको मुद्दमा स्थानीय तहले अपनत्व लिन आवश्यक छ’

११ माघ २०७८, मंगलवार १५:०१
नेपालगञ्ज :  मानव बेचविखन बिरुद्धको मुद्दा स्थानीय सरकारले अपनत्व लिनु पर्ने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लवद्वारा सञ्चालन गरेको मानव बेचबिखन बिरुद्धको अभियान रोकथाम नै समाधान प्रोटेक्ट परियोजनाले आयोजना गरेको सरोकारवालाबीचको अन्तरक्रियात्मक पैरबी बैठकका सहभागिले सो कुरा औल्याएका हुन । […]