नेपालगञ्ज : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले संक्रमितको उपचारका क्रममा कोरोना भाइरसको संक्रमणका कारण निधन भएका चिकित्सकका परिवारलाई एक करोड भारु क्षतिपूर्ति स्वरुप दिने घोषणा गरेका छन् ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको दिल्लीमा लकडाउन फेरि एक हप्ताका लागि थप भएको निर्णय सुनाउँदै उनले भाइरसको संक्रमणका कारण निधन भएका चिकित्सकका परिवारलाई एक करोड भारु क्षतिपूर्ति स्वरुप दिने घोषणा गरेका हुन् । आइतवार पत्रकार सम्मेलनमा उनले दिल्लीमा लकडाउनले राम्रो प्रभाव पारेको बताए ।
लकडाउनकै कारण संक्रमणदर ३६ प्रतिशतबाट २.५ प्रतिशतमा आएको उनले बताए । अवस्था सुधार भए पनि कोरोनासँगको युद्ध जित्न बाँकी नै रहेको र त्यसका लागि अनुशासन कायम गर्नु पर्ने उनले बताए ।
यसैबिच केजरीवालले दिल्लीमा कोरोना भाइरसविरुद्धको खोपको अभाव रहेको पुनः दोहो¥याउनुभएको छ । दिल्लीमा खोप अभावकै कारण १८ देखि ४४ वर्षका मानिसलाई खोप दिने अभियान अहिले बन्द छ ।