सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको पाँचौ नगरसभाले आ.व. २०७६÷०७७ का लागि दुई अर्व २८ करोड ८५ लाख ५४ हजारको बजेट पारित गरेको छ । विनीयोजन विधेयक र आर्थिक विधेयक स्वीकृत गर्दै असार १० गतेदेखि जारी नगरसभा बिहीवार सकिएको छ । मेयर डा. धवल शम्शेर राणाले पेश गरेको नीति तथा कार्यक्रम र उपमेर उमा थापा मगरले यसअघि पेश गरेको वजेट परिमार्जन र संशोधनसहित स्वीकृत गरिएको हो ।
उपमेयर थापामगरले चालु खर्चतर्फ एक अर्व २१ करोड ४७ लाख ७२ हजार, पूँजीगत तर्फ एक अर्व ४ करोड ३७ लाख ८१ हजार विनियोजित वजेट प्रस्तुत गरेकी थिइन् । मेयर डा राणाद्वारा प्रस्तुत आर्थिक विधेयकले कर, राजश्व संकलनलाई सहज र प्रभावकारी बनाइने विश्वास गरिएको छ । समापन समारोहमा २९ जनालाई कदरपत्रसहित सम्मान गरिएको छ । उपपमहानगरपालिकाले कलाकार, सफल उद्यमी, पत्रकार, कर्मचारी गरि २९ जनालाई सम्मान गरेको हो ।
सम्मान समारोहमा बोल्दै मेयर राणाले दुई वर्षे अवधीमा भौतिक पुर्वाधारलगायत महत्वपूर्ण कार्य गरिएको भन्दै नेपालगञ्जलाई चाँडै उत्कृष्ट शहर बनाउने घोषणा गरे । बागेश्वरी मन्दिर नजिक सात तले बागेश्वरी कम्पलेक्स, नगरभवनमा बहुतले पार्किङसहितको शपिङ कम्पलेक्श निर्माण, नगर वस सञ्चालनलगायत प्राथमिकतामा रहेको बताउँदै उनले कर संकलनको दायरा फराकिलो बनाउँदै फुटपाथ र फोहोर व्यवस्थित गरिने जानकारी दिए ।
उपमहानगरपालिकाले खेलाडी पे्रत्साहन कार्यक्रम पनि ल्याएको छ । राष्ट्रिय तथा अन्तर्राष्टिय खेलकुद प्रतियोगितामा उपमहानगरपालिकाबाट प्रतिनिधित्व गर्दै विभिन्न पदक प्राप्त गर्ने खेलाडी तथा टीमलाई प्रोत्साहन स्वरुप नगद दिइनेछ ।