नेपालगञ्ज : बुधवार अन्तर्राष्ट्रिय नर्स दिवस । ‘नर्स ः नेतृत्वका लागि एक आवाज, स्वास्थ्य सेवाको भविष्यका लागि एक दर्शन’ भन्ने नाराका साथ मनाइँदै छ ।
कोरोनाको यो महामारीमा नर्सलाई बिरामीको सहयोग गर्ने एक स्वास्थ्यकर्मीको रुपमा चिनिन्छ । विश्वमा हरेक वर्षको मे १२ तारिखमा नर्स दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको हो ।
कोरोनाको विश्वव्यापी महामारीको यो बेला नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको छ । शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेसालाई सम्मानित पेसाका रुपमा लिने गरिएको छ ।आधुनिक नर्सिङ पेसाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर नर्स दिवस मनाउने गरिन्छ ।
‘लेडी विद् दि ल्याम्प’को उपनामले परिचित नाइटिङ्गेल सन् १८२० मा बेलायतमा जन्मिनुभएको थियो । नाइटिङ्गेलले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज सञ्चालन गर्नुभएको थियो, जुन नर्सिङ क्षेत्रमा आधुनिक र व्यावसायिक नर्सिङ सेवाको रुपमा मानिन्छ ।