नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । बाँकेका बिभिन्न अस्पतालमा उपचार गराईरहेका ३ जनाको उपचारकै क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २ जना बाँकेका र १ जना दाङका संक्रमित रहेको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
सोमबार बिहान ६ः२० बजे तुलसिपुर उपमहानगरपालिका ९ दाङकी ७४ वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भएको थियो । बैशाख १२ गते पिसिआर परीक्षणका क्रममा कोरोना संक्रमण देखिएपछि ति महिलालाई १३ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर भर्ना गरिएको थियो । अस्पताल भर्ना भएको एक दिनपछि उपचारकै क्रममा कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
त्यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोहलपुर नगरपालिका १ की ६० वर्षीया महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बैशाख १० गते नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर परिक्षण गराएकी ति महिलामा कोरोना संक्रमण देखिएपछि उपचारकालागि बैशाख ११ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएर उपचार गराईरहेकै अवस्थामा १४ गते बिहान २ः४० बजे ति महिलाको मृत्यु भएको हो ।
यसअघि सोमबार राती नेपालगञ्ज उपमहानगरपालिका ३ का २६ वर्षीय युवाको उपचारकै क्रममा मृत्यु भएको थियो । बैशाख १२ गते नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जको प्री आइसोलेसनमा भर्ना भएका ति युवालाई १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएको केही समयपछि सोमबार राती ८ः३० बजे उपचारकै क्रममा ति युवाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।
योसँगै बाँकेमा बाहिर जिल्लाबाट उपचारका लागि बाँके आएका १०६ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणका कारण बाँकेकै ९२ जनाले हालसम्म ज्यान गुमाएका छन् ।