हुलाकी राजमार्गअन्तर्गत बाँकेमा तीन सडक निर्माण हुँदै

सदरलाइन संवाददाता २६ फाल्गुन २०७९, शुक्रबार १४:३१
 

नेपालगञ्ज : हुलाकी राजमार्गअन्तर्गत बाँकेमा तीनओटा सडक निर्माणाधीन छन् । बाँकेको राप्ती पुलपूर्व २१ किलोमिटर सडक, नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म २७ दशमलव ४६ किलोमिटर र नेपालगञ्ज बसपार्कदेखि राप्तीपुलसम्म नौ किलोमिटर सडक निर्माणाधीन रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले बताएको छ ।

नेपालगञ्ज–गुलरिया सडकको बाँके खण्ड ११ दशमलव ६ किलोमिटर छ । बाँकेमा चालू आर्थिक वर्षमा हुलाकी लोकमार्गका तीन योजनाअन्तर्गत ४१ किलोमिटर सडक निर्माण भइरहेको छ । राप्ती पुलपूर्व नारायणपुरदेखि कुण्डासम्म २१ किलोमिटर सडकमा रू. ६८ करोड ७ लाख लागतमा अस्फाल्ट प्रविधिको कालोपत्र गर्न शुरू गरिएको हो ।

खड्का कृष्ण कन्स्ट्रक्सनले यो सडकको कालोपत्र अस्फाल्ट प्रविधिबाट गर्ने सम्झौता गरेको थियो । आर्थिक वर्ष २०७५/७६ मा शुरू भएको योजना २०८० कात्तिकमा सक्नुपर्ने सम्झौता छ । नेपालगञ्ज–गुलरिया सडकखण्ड रू. २ अर्ब ७८ करोड २९ लाखमा निर्माणका लागि यसै वर्ष मङ्सिर २८ गते शर्मा एण्ड कम्पनीसँग सम्झौता भएको थियो ।


सडकको बाँके खण्डको ५ दशमलव ४ किलोमिटर चार लेन र ६ दशमलव ३६ किलोमिटर दुई लेन बनाइने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी इञ्जिनीयर कृष्णप्रसाद पाण्डेले बताए । उनका अनुसार बर्दियातर्फ भने ६ दशमलव २ किलोमिटर चार लेन र ९ दशमलव ६६ किलोमिटर दुई लेन बन्नेछ । उक्त सडक खण्ड चौडा पार्ने र अस्फाल्ट कालोपत्र गर्ने योजनाको काम शुरू भएको हो । उक्त योजना २०८२ मङ्सिर २७ गते सम्पन्न गर्ने सम्झौता निर्माण कम्पनीसँग भएको छ ।

इञ्जिनीयर पाण्डेले बसपार्कदेखि राप्ती पुलसम्म सडक चौडा पार्ने योजना कार्यान्वयनमा रहेको बताए । राप्ती पुलसम्मको ९ किलोमिटर सडक चौडा पार्ने सम्झौता भई निर्माण शुरू भएको जानकारी उनले दिए । यसै वर्ष कात्तिक ६ गते शुरू भएको योजना २०८० कात्तिकमा सक्ने सम्झौता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा विद्यालय भवनको उदघाटन

२६ फाल्गुन २०७९, शुक्रबार १४:३१
कोहलपुर (बांँके) : बांँकेको कोहलपुर २ प्रेमनगरमा रहेको शिबशक्ति आधारभूत विद्यालयको नव निर्मित चार कोठे भवनको उदघाटन तथा चमेनागृहको शिलान्यास गरिएको छ । विद्यालयले आयोजना गरेको एक कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले सो भवनको उदघाटन तथा चमेनागृहको शिलन्यास गरेका हुन् । १६ लाख ७० हजार कोहलपुर नगरपालिका एबं […]

सम्बन्धित