नयाँ विरामी भर्ना गर्न समस्या

भेरीको कोरोना वार्ड संक्रमितले खचाखच

रुद्र सुवेदी २ बैशाख २०७८, बिहीबार १०:४०
 


नेपालगञ्ज  : पछिल्लो एकसाता यता कोरोना सक्रमण तीब्र गतिमा बृद्धि हुँदा नेपालगञ्जको भेरी अस्पतालमा नयाँ विरामी भर्ना गर्नै नसक्ने अवस्थामा पुगेको छ । कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई उपचारको लागि आइसोलेशसनमा राख्न नसक्ने भएको हो ।

भेरी अस्पताल व्यवस्थापन समितिले अस्पतालमा आयोजना गरेको सर्बपक्षिय छलफलमा सो जानकारी गराउदै अस्पतालमा गत आईतबारदेखि एक्कासी लक्षणसहितका कोभिड–१९का विरामीको चाप बढेपछि अस्पतालमा रहेको जनशक्ति तथा अक्सिजन सुबिधा सहितको बेडको अभावमा थप बिरामी भर्ना गर्न असमर्थ हुनु परेको जनाएको हो ।

भेरी अस्पताल विकास समितिले आयोजना गरेको सो सर्वपक्षिय बैठकमा अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालमा बुधबारसम्म ८० जना विरामी भर्ना भएको र ती मध्ये ८० प्रतिशत विरामी गम्भीर प्रकृतिको भएको बताए ।

उनले भने–‘ पछिल्लो अवस्था भयावह हुँदै आएको छ । संक्रमितको संख्या दिनहुँ थपिदै गएको छ । पहिलाको जस्तो अवस्था छैन सबै लक्षणसहितको र अक्सिजन सहितको बेडमा राख्नुपर्ने बाध्यता आई परेको छ ।’ उनले अस्पतालमा उपचारको लागि आउने कोरोना संक्रमितलाई भर्ना लिन नसक्दा आफुहरु र स्वास्थ्यकर्मी नै सुरक्षित नहुने अवस्था आई सकेको गुनासो गरे ।

भेरी अस्पतालमा कोभिड संक्रमितको उपचारको लागि भर्ना भएका विरामीलाई दैनिक करिव २ लाखको अक्सिजन मात्र आवश्यक पर्ने तर विस्तारै सो अक्सिजन समेत सर्टेज हुने अवस्थामा पुग्ने भएकोले सो समस्याबाट जोगिन सर्वपक्षिय बैठक आयोजना गरिएको उनले स्पट पारे ।

भेरी अस्पतालमा कोभिड–१९ को बिरामीको लागि लक्षित गरी निर्माण गरिएका १ सय ७ बेड छन् । १६ वटा भेन्टीलेटर मध्ये बुधबारसम्म ६ वटा भेन्टीलेटरमा विरामी भएपनि जनशक्ति अभावको कारण सबै बेड र भेन्टीलेटर सञ्चालनमा ल्याउन कठिन भएको अध्यक्ष धितालको भनाई थियो ।


भेरी अस्पतालका निमित्त मेसु डा खगेन्द्रजंग शाहीले अस्पतालमा बढ्दो कोरोना संक्रमितको चाप र आवश्यक अनुसारको जनशक्ति नभएको कारण आफुहरुलाई सेवा प्रवाहमा विभिन्न खालको अवरोध आउने गरेको बताए । उनले भने–‘यथा स्थितिमा अव थाप कोभिड संक्रमित केस अस्पतालले भर्ना लिनसक्ने अवस्था छैन ।’

अस्पतालका नर्सिङ्ग अधिकृत शिला शर्माले कोरोना वाडर्मा खटेने नर्सिङ्ग स्टाफको कमीका कारण सेवा प्रवाहमा अबरोध हुनुको साथै विरामीका आफन्तको भिड र उनीहरुको व्यवहारले सुरक्षित काम गर्न कठिन भएको बताईन ।

 बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले पछिल्लो समय कोभिड–१९ को संक्रमितको संख्यमा बृद्धि भएको कारण संक्रमणलाई जनस्तरमा फैलिन नदिन विभिन्न प्रयास जारी राखिने  बताए ।  उनले सिमा क्षेत्रमा कडाई गर्नुको साथै भिडभाड नियन्त्रणका लागि पहल गरिने जानकारी दिदै अस्पतालमा संक्रमितको उपचारको लागि बेड बढाउन पहल गरिने बताए ।

नेपालगन्ज उपमहानगरकी उपप्रमुख उमा थापामगरले उपमहानगरले संक्रमितको उपचारको लागि सहयोग गर्नुको साथै आईशोलेशन सञ्चालनको लागि पहल गरेको बताईन । उनले सीमा क्षेमा स्वास्थ्य हेल्थ डेस्क स्थपना गर्नुको साथै कन्ट्रयाक्ट ट्रेसिङ्गलाई पनि बढाए लैजानु पर्ने सुझाव दिईन ।

बाँकेमा गत आईतबार यता भएको कोरोना परीक्षणको नतिजा अनुसार दिनहुँ संक्रमितको संख्यामा बृद्धि हुनुको साथै ३१ चैतमा १ सय १३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको छ । बुधबार १ सय २३ जनाको नमूना परीक्षण गर्दा थप ७५ जनामा कोरोना भाइरस पुष्टि भएको अस्पतालले जनाएको छ ।

Next Post

कोरोना कहर : सीमा क्षेत्रमा कडाई नाम मात्रको

२ बैशाख २०७८, बिहीबार १०:४०
नेपालगञ्ज :  नेपाल–भारत सीमा क्षेत्र गत चैत्र ११ गतेदेखि आवगमनमा कडाई गर्ने स्थानीय प्रशासनको निर्णय भए पनि कडाईका साथ लागू गर्न नसक्दा नेपालगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा पुगेको पाईएको छ । भारतमा तीब्र गतिमा कोराना संक्रमण फैलिएपछि स्थानीय कोभिड–१९ संकट व्यवस्थापन समितिले अत्यावश्यक बाहेक अन्य कार्यको लागि सीमा क्षेत्रमा आवागमनमा […]