सोनाम ल्होसार मनाईंदै, शुक्रवार सार्वजनिक बिदा

सदरलाइन संवाददाता ३० माघ २०७७, शुक्रबार ०९:०२
 

काठमाण्डौ : तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व शुक्रवार विविध कार्यक्रम गरी मनाइँदैछ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । शुक्रवारदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । यस वर्ष शुक्रबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।


पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउन लागेको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए । कोरोना महामारीका कारण यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर ल्होसार मनाइने उनले बताए ।

बौद्ध क्षेत्रमा शुक्रवार सांस्कृतिक झाँकीसहित बाजागाजाको र्याली निकालिने छ । दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट कार्यक्रम गरिने जनाइएको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइने जनाइएको छ । यसैगरी देशका अन्य भागमा पनि ल्होसार मनाइने तयारी भइरहेको छ ।

Next Post

अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु

३० माघ २०७७, शुक्रबार ०९:०२
धनगढी : कैलालीमा अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टीकापुर नगरपालिका–८ स्थित हुलाकी सडकखण्डमा बिहीवार राति करिब ११ बजे भे १ ह ५४२ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर घाइते भएका चालक बर्दियाको राजापुर बस्ने ४५ वर्षीय भागीराम चौधरीको मृत्यु भएको हो । अटो रिक्सामा अन्य […]