राप्तीसोनारीमा बर्थिङ सेन्टर सञ्चालन हुन सकेन

सदरलाइन संवाददाता ६ मंसिर २०८०, बुधबार १५:४२
 

राप्तीसोनारी (बाँके) : बर्थिङ सेन्टर (प्रसुती गृह) सञ्चालनमा नआउँदा बाँकेको राप्तीसोनारी गाउँपालिका ६ का महिलाले सुत्केरी सेवा लिन अन्यत्र जानुपरेको छ । बर्थिङ सेन्टरको भवन उदघाटन गरिए पनि यहाँ आवश्यक पूर्वाधार बनेको छैन । बर्थिङ सेन्टर उदघाटन भएको दुई महिनासम्म पनि अधुरो रहँदा स्वास्थ्यकर्मीले प्रसुती सेवा दिन सकेका छैनन् ।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत वडा ६ स्थित कमैयाडाँडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रपरिसरमै बर्थिङ सेन्टरका लागि भवन बनाएको थियो । गाउँपालिका कार्यालयको प्राविधिक शाखाले दिएको जानकारीअनुसार उक्त भवन निर्माणका लागि स्थानीय भुवर भवानी निर्माण सेवाले २६ लाख २५ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

भवन निर्माण कार्य सम्पन्न भएको भन्दै गत असोज ९ मा उदघाटन गरिएको उक्त बर्थिङ सेन्टर अधुरो हुँदा अहिलेसम्म गर्भवतीलाई सेवा दिन नसकिएको स्वास्थ्यकर्मीले बताएका छन् । उक्त बर्थिङ सेन्टर प्रमुख अतिथिसमेत रहेका गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले उदघाटन गरेका थिए ।

अधुरो बर्थिङ सेन्टरले वडामा रहेका गर्भवतीलाई प्रसुती सेवा दिन नसकेपछि अन्यत्रै गएर सुत्केरी हुन महिला बाध्य भएका हुन् । गत असोज महिनायता मात्रै चारजना सुत्केरी हुनका लागि आधारभूत स्वास्थ्य केन्द्र कमैयाडाँडाको सम्पर्कमा आएका थिए । तर, केन्द्रले बर्थिङ सेन्टर सञ्चालनमा नआएको बताएपछि उनीहरू अन्यत्रै गएर सुत्केरी भएको सेवा केन्द्रका प्रमुख नियामत अली साईले बताए ।

अघिल्लो आर्थिक वर्षमा उक्त स्वास्थ्य सेवा केन्द्र गाउँपालिकाकै सबैभन्दा धेरै स्वास्थ्य सेवा दिने स्वास्थ्य केन्द्रका रूपमा थियो । थारू समुदायको उल्लेख्य बसोवास रहेको उक्त वडामा गर्भवती हुनेको संख्या पनि धेरै छ । बर्थिङ सेन्टरका लागि गाउँपालिका कर्मचारीले प्राविधिक स्टिमेटमा आवश्यक पूर्वाधार नराखिदिँदा सेवा अधुरो हुन पुगेको यहाँका स्थानीय बासिन्दा बताउँछन् ।

आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज साईले पनि भवनमा आवश्यक पर्ने कतिपय पूर्वाधार नभएको गुनासो गरे ।


प्रमुख साईका अनुसार स्टिमेट गर्दा प्राविधिकले सुत्केरी कक्षमा टायल बिछ्याउने, सालनाल बिर्सजन गर्ने ट्यांकी र पर्खाल निर्माण जस्ता अत्यावश्यक पूर्वाधार समेटेका थिएनन् । यस्तै ठेकेदारले सिँढीमुनिको भागमा शौचालय निर्माण, झ्यालमा जाली, गर्भवतीले प्रयोग गर्ने शौचालयमा ‘कम्भर्ट’ राख्नुपर्नेमा अटेर गरी ‘प्यान’ राखेको उनले सुनाए ।

गाउँपालिकाले उक्त ठेकेदार कम्पनीलाई भवन निर्माणवापतको रकम भुक्तानी गरिसकेको बताइएको छ ।

प्राविधिकले पहिलो स्टिमेटमा छुटाएका पूर्वाधार निर्माणका लागि गाउँपालिकाले पुनः दोस्रो ठेकेदारलाई जिम्मा दिएको छ । गाउँपालिकाका सब–ओभरसियर युवराज बस्नेतका अनुसार मेनुका निर्माण सेवा नामक ठेकेदार कम्पनीले १० लाख रूपैयाँको लागतमा बर्थिङ सेन्टरको बाँकी पूर्वाधार निर्माण कार्य गरिरहेको छ । उक्त ठेकेदार कम्पनीले पर्खाल, मूलगेट, च्यानलगेट, सुत्केरी कक्षमा टायल बिछ्याउने, सालनाल गाड्ने ट्यांकी निर्माण, फोहोर जलाउने खाडललगायतका पूर्वाधार बनाउन शुरु गरेको छ ।

राप्ती सोनारी गाउँपालिका ६ का वडाध्यक्ष लवराज खरेलले बर्थिङ सेन्टरको बाँकी पूर्वाधार बन्ने क्रम चलिरहेको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बजेट अपुग हुने भएपछि पहिलो स्टिमेटमा बर्थिङ सेन्टरलाई चाहिने पूर्वाधार छुटेको र पुनः १० लाख रूपैयाँ थपेर निर्माण कार्य चलिरहेको बताए । ठेकेदारले इमानदारीपूर्वक काम गरेको पनि उनले जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाहा नाकाबाट नेपालगञ्ज भित्रिए मुर्रा राँगा

६ मंसिर २०८०, बुधबार १५:४२
नेपालगञ्ज : भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा नेपाल ल्याइएको छ । ती मुर्रा राँगा बुधबार साँझ नेपालगञ्जस्थित जमुनाहा नाकाबाट नेपाल ल्याइएको हो । भारतबाट ल्याइएको १५ वटा मुर्रा राँगा पशु सेवा विभागका अधिकारीहरूले बुझेका छन् । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा […]