काठमाण्डौ : ९० वर्षीया वृद्धाले कोरोना भाइरसविरूद्धको खोप लगाएकी छन् । औषधी निर्माता कम्पनी फाइजरर बायोएनटेक कम्पनीले बनाएको कोरोनाविरूद्धको खोप लगाउने उनी पहिलो व्यक्ति बनेकी छिन् ।
बेलायत सरकारले कोरोनाविरूद्धको खोप वितरण गर्न अनुमति दिएपछि राष्ट्रिय स्वास्थ्य सेवा मंगलबार खोप वितरण गर्ने कार्यक्रम आयोजना गरेको द गार्डियनले जनाएको छ ।
मंगलबार बिहान पौन ६ बजेतिर मार्गरेट किनानले खोप लगाएर खोप लगाउने कार्यक्रमको उद्घाटन भएको थियो ।
बेलायतका ५० वटा अस्पतालमा खोप लगाउन दिइएको छ । त्यहाँ भर्ना भएका ८० वर्ष माथिका बिरामी र डिस्चार्ज हुन लागेका बिरामीहरूलाई सुरूमा खोप दिइनेछ । किनानले कोभेन्ट्रीको युनिभर्सिटी हस्पिटलका नर्स मे पार्सन्सबाट खोप लिएकी हुन् ।
किनान पहिले ज्वेलरी पसलमा काम गर्थिन् भने चार वर्षअघिमात्रै सन्यास लिएकी हुन्। उनी अर्को हप्ता ९१ वर्ष पुग्दैछिन् । उनकी एक छोरी, एक छोरा र चार नातिनातिना छन् ।
कोरोना भाइरसविरूद्धको खोप लगाउने पहिलो व्यक्ति भएकोमा मलाई विशेष महशुस भएको छ, यो मैले चाहेको जन्मदिनको उत्तम गिफ्ट हो किनकी एक्लै बसेको करिब एक वर्षपछि म मेरो परिवार र साथीहरू नयाँ वर्षमा समय बिताउन सक्छु, उनले भनिन् । उनले आफ्नी नर्स मे पार्सन्स र एनएचएसका कर्मचारीहरूलाई पनि धन्यवाद दिइन् ।
यस्तो ऐतिहासिक दिनमा सहभागी हुन पाएकोमा म खुशी छु । एनएचएसमा काम गर्नु केही महिना हाम्रा लागि कठिन भएको थियो तर अब टनेलको अन्त्यमा प्रकाश परेको जस्तो महसुस भएको छ, भनिन् ।
फिलिपिन्सकी मे २४ वर्ष देखि एनएचएसमा काम गर्दै आएकी छिन् । बेलायतका प्रधानमन्त्रीले पनि एनएचएस तथा वैज्ञानिकहरूलाई धन्यवाद दिएका छन् । खोप लिएकी किनान करिब एक वर्षदेखि सेल्फ आइसोलेसनमा छन् । उनी आउँदो क्रिसमसमा परिवारसँग बस्ने योजना बनाउँदै थिइन् ।
खोप लगाएपछि उनलाई ह्विल चियरमा राखेर आफ्नो वार्डमा फर्काइएको थियो । उनी पहिलो डोजको खोप पाउने चार लाखमध्ये एक हुन् । उनले अर्को डोज २१ दिनपछि पाउनेछिन् ।
खोप पाउने दोस्रो व्यक्ति ८१ वर्षीय बिलियन विलु सेक्सपियर हुन् । उनी कोभेन्ट्रीको अस्पतालमा भर्ना भएका छन् ।