बर्दिया : बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । बाघ आक्रमणमा परि ज्यान गुमाएका बर्दियाको मधुवनका ४ जना र गेरुवाका १ जना गरी ५ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो ।
डिभिजन वन कार्यालय बर्दियाले राष्ट्रिय वन क्षेत्रमा बाघ आक्रमणमा परी ज्यान गुमाएका मधुवन नगरपालिका क्षेत्रका ४ जनाका परिवारलाई प्रति परिवार १० लाखका दरले ४० लाख रुपैयाँ उपलब्ध गराएको छ । यस्तै बर्दियाको गेरुवामा निकुञ्जको बाघले आक्रमण गर्दा ज्यान गुमाएका व्यक्तिका परिवारलाई निकुञ्जले १० लाख रुपैयाँ राहत उपलव्ध गराएको हो ।

मधुवन नगरपालिका ३ खातामा बाघ आक्रमणमा परी भदौ १८ गते विशाल वलीको ज्यान गएको थियो । यस्तै, कात्तिक ५ गते गंगा खत्री र कात्तिक ११ गते गते रमेश थारु र दिनेश थारुले बाघकै आक्रमणबाट ज्यान गुमाएका थिए । यस्तै, कात्तिक १५ गते बाघकै आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ राजीपुरका लहानु थारुको ज्यान गएको थियो । गेरुवा क्षेत्रमा मान्छे मार्ने बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा समेत लिइसकेको छ ।
नेपाल सरकारको राहत प्रक्रिया अनुसार मृतकका हकवालालाई प्रति परिवार दशदश लाखका दरले राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले बताए । डिभिजन वन कार्यालयले मंसिर २३ गते ४ जना मृतकका परिवारलाई राहत वितरण गरेको थियो भने बर्दिया राष्ट्रिय निकुञ्जले मंसिर २५ गते १ परिवारलाई राहत हस्तान्तरण गरेको हो ।


