नेपालगञ्ज : कोरोना भाइरस संक्रणका कारण बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा न.ं १६ जयसपुरकी कोरोना संक्रमित महिलाको भेरी अस्पतालमा उपचारका क्रममा आइतवार बेलुकी मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
कार्तिक १२ गते अस्पताल भर्ना भएकी उनमा १३ गते कोरोना पुष्टि भएको थियो । योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।
यस्तै दाङका एक पुरुषको बाँकेमा मृत्यु भएको छ । तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ८ दाङका ४८ वर्षीय कोरोना संक्रमित पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आइतवार राती ११ बजेर १३ मिनेटमा मृत्यु भएको हो ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १० गते अस्पतालको प्री–आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा १० गते कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको र ११ गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको थियो ।
कोरोना पुष्टि भएपछि रोगको प्रकृतिअनुसार सबै प्रकारको उपचार गरिएपनि उनको आइतवार राती मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । योसँगै बाहिरी जिल्लाबाट कोरोना उपचार गर्न बाँके आएर मृत्यु हुनेको संख्या २१ पुगेको छ ।