काठमाण्डौ : भारतीय चलचित्र उद्योग बलीवुडका स्थापित अभिनेता सञ्जय दत्तले आफूलाई क्यान्सर भएको पुष्टि गरेका छन् । भारतीय सञ्जारमाध्यमले उनको स्वास्थ्यबारे केही सातादेखि विभिन्न अनुमान गर्दै आएका थिए ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडिओ प्रेषित गर्दै ६१ वर्षीय दत्तले आफूले ‘चाँडै क्यान्सरलाई परास्त गर्ने’ विश्वास व्यक्त गरेका छन् ।
उनले आगामी नोभेम्बर महिनादेखि नयाँ चलचित्रको छायाङ्कन गर्ने सुरु गर्ने बताएका छन् । अहिलेसम्म दत्तले १५० वटाभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।
गत अगस्ट महिनामा सास फेर्न गाह्रो भएपछि उनको कोभिड(१९ परीक्षण गरिएको थियो । तर उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको देखिएन ।
त्यसपछि मुम्बईस्थित लीलावती अस्पतालमा विभिन्न परीक्षण गरियो । फोक्सोको क्यान्सर देखिएको अपुष्ट समाचार आएकै बेला उनले ‘औषधोपचारका लागि कामबाट छोटो बिदा’ लिने बताएका थिए ।
सञ्जय दत्त र उनकी पत्नी मान्यताले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्नै प्रशंसकहरूलाई उनको अवस्थाबारे ‘चिन्ता वा अनावश्यक अनुमान नगर्न’ आग्रह गरेका छन् ।
आफ्ना केशविन्यासकार आलिम हकिमको सलोनमा खिचिएको भिडिओमा दत्तले देब्रे आँखीभौँदेखि टाउकोको छेउसम्म बनेको एउटा दाग देखाएका छन् ।
‘यो मेरो जीनवको आलो दाग हो । तर म यसलाई परास्त गर्छु । म क्यान्सरबाट चाँडै मुक्त हुन्छ ।’ दत्तले नयाँ चलचित्रको छायाङ्कनमा जान पाउने भएकोमा प्रसन्नता व्यक्त गरेका छन् ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
विगत
सन् २०१३ मा पाँच वर्ष जेल परेपछि उनको अभिनययात्रामा विश्राम लागेको थियो ।
सन् १९९३ मा मुम्बईमा भएका विस्फोटन र बन्दुकसम्बन्धी मुद्दामा उनी दोषी ठहर भएका थिए । ती घटनामा २५७ मानिसको ज्यान गएको थियो भने ७१३ जना घाइते भएका थिए ।
तर सन् २०१६ मा कारागरबाट छुटेपछि उनी फेरि चलचित्र उद्योगमा फर्किए ।
उनले त्यसपछि अभिनय गरेका केही चलचित्रहरू धेरै सफल भए । रणवीर कपूरले अभिनय गरेको दत्तको जीवनकथामा आधारित चलचित्र धेरै चल्यो ।
सञ्जय दत्तले आफू लागुपदार्थको दुर्व्यसन र मुम्बई घटनामा दोषी ठहर भएको विषयमा खुलेरै अन्तरवार्ता दिएका छन् ।
ती घटनाले आफूलाई बलियो बनाएको उनको भनाइ छ । उनकी आमा नरगिसको सन् १९८१ मा र पहिली पत्ती ऋचा शर्माको १९९६ मा क्यान्सरकै कारण मृत्यु भएको थियो ।
उनका बुवा सुनील दत्त र आमा नरगिस दुवै जना कलाकार थिए । सुनील दत्त पछि राजनीतिमा पनि लागे । (एजेन्सी)