खोप आउनुपूर्व कोभिड–१९ले २० लाख मानिसको ज्यान लिनसक्छ : डब्लुएचओ

सदरलाइन संवाददाता १० आश्विन २०७७, शनिबार ०९:२८
 

काठमाण्डौ : प्रभावकारी खोप पत्ता लाग्नु पूर्व विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख पुग्नसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चेतावनी दिएको छ ।

डब्लुएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रियरुपमा महामारीविरुद्ध एकीकृत र प्रभावकारी काम नभएमा ज्यान गुमाउनेको संख्या अधिक हुन सक्ने बताएका हुन् ।

गत वर्षको अन्त्यतिर चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा झण्डै १० लाख मानिसको ज्यान गएको छ ।

संक्रमण फैलिने क्रमम निरन्तर जारी रहँदा विश्वभर संक्रमितको संख्या तीन करोड २० लाख भन्दा बढी पुगेको छ ।

गृष्म ऋतु आउँदै गर्दा उत्तरी गोलार्धका धेरै देशमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको छ ।


अहिलेसम्म अमेरिका, भारत र ब्राजिल विश्वका सबैभन्दा बढी प्रभावित देश हुन् । यी तीन देशमा गरेर एक करोड ५० लाख भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्ला दिनहरुमा युरोपका विभिन्न देशमा संक्रमण पुनः बढ्दो क्रममा देखिएको छ । महामारीको पहिलो चरणमा जस्तै अहिले पनि युरोपका विभिन्न देशमा लकडाउनसहितका प्रतिबन्धात्मक उपायहरु अपनाउन थालिएको छ ।

डा. रायनले भने, ‘समग्रमा निकै फराकिलो क्षेत्रमा चिन्ताजनक रुपमा संक्रमण फैलिरहेको हामीले देखेका छौँ ।’

उनले युरोपियनहरुलाई लकडाउनको अवस्था पुनः आउन नदिनका लागि पर्याप्त काम गरे–नगरेको आफैलाई सोध्न आग्रह गरेका छन् ।

उनले परीक्षण तथा ट्रेसिङ्ग, क्वारेन्टिन र सामाजिक दूरीसहितका उपायहरु अपनाउन मुख्य रुपमा जोड दिनु पर्ने र त्यसमा कुनै पनि हिसाबले कमी ल्याउन नहुनेमा जोड दिएका छन् । (एजेन्सी)

Next Post

कोरोनाबाट बर्दियाका क्याम्पस प्रमुखको मृत्यु

१० आश्विन २०७७, शनिबार ०९:२८
नेपालगञ्ज : कोरोना संक्रमणका कारण बर्दियाका एकजना क्याम्पस प्रमुखको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ५० वर्षीय क्याम्पस प्रमुखको शनिवार मृत्यु भएको हो । असोज ३ गते संक्रमण पुष्टि भएका क्याम्पस प्रमुख होम आइसोलेशनमा बस्दै आएका थिए । गम्भीर स्वास्थ्य समस्या भएपछि […]