भारतबाट नेपाल आउने यात्रुको लागि लक्षित तयारी खाना कार्यक्रम समापन

८ भाद्र २०७७, सोमबार २०:१८
 

नेपालगञ्ज : कोभिड–१९ को महामारीमा आव्हान गरिएको लकडाउनको बेलामा भारतबाट नेपाल आउने यात्रुको लागि लक्षितगरी संचालनमा ल्याएको तयारी खाना पानी र मास्क वितरण कार्यको समापन गरिएको छ । ८१ दिनसम्म सञ्चालन गरिएको सो कार्यक्रमबाट भारतबाट फर्किएका २५ हजार १२८ जना सर्वसाधारण लाभान्वित भएका छन ।

बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र नेपालगन्ज उपमहानगरपालिकाको समन्वय तथा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहकार्यमा गत जेठ २२ गतेबाट जमुनाह नाकामा शुरु गरिएको तयारी खाना, पानी र मास्क वितरण कार्यलाई समापन गरिएको हो ।

सो कार्यको समापन गर्दै नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमाथापा मगरले प्लान र बाँके युनेस्को क्लबले करिब तीन महिनासम्म सीमानाकामा गरेको सहयोग अतिनै सराहनीय रहेको उल्लेख गर्दै भविष्यमा पनि सहयोग गर्न आग्रह गरिन । उनले कोभिड १९ को समस्या र सीमानाको समस्या पनि अझै केही समय यथावत रहने जनाउँदै अबका दिनमा नेपालगञ्जमा बनिरहेको आइसोलेसन अस्पतालका लागि थप सहयोगका लागि पनि दुबै संस्थालाई अनुरोध गरिन ।

प्लान इनटरनेसनल नेपाल नेपालगन्जका फाइनान्स म्यानेजर रमेश केसीले जमुनाहमा गरिएको यो कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै निकै जटिल अवस्थामा चुनौतीपूर्ण काम पुरा गरेको बताए । उनले प्लानले बाँकेमा कोभिडमा मात्र करिव १ करोड ८० लाखको हाराहारीमा बजेट खर्चेको जानकारी दिए ।

करिब तीन महिना अगाडिको समयमा भारतबाट फर्किनेहरु भोकै प्यासै र मास्क समेत नलगाएर फर्किने गरेकोले उनिहरुलाई सहज होस भनेर यस कार्यक्रममार्फत खाना, पानी र मास्क वितरण शुरु गरिएको थियो ।


बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले ८१ दिनको अवधीमा भारतबाट फर्किएका २५ हजार १२८ जना सर्वसाधारणलाई जमुनाहस्थित होल्डिंग सेन्टरमा तयारी खाना, पानी र मास्क वितरण गरिएको बताए ।

सो कार्यक्रम अन्तर्गत भारतबाट आउने हरेकलाई एक प्याकेट तयारी खाना, दुई प्याकेट विस्कुट, एउटा स्याउ, एक बोतल पानी, एक थान मास्क र सानो गाडीमा एउटा पानीको जार र ठुलो गाडीमा दुई वटा पानीको जार वितरण गरिंदै आएको थियो ।

 

 

 

Next Post

२० ग्राम ब्राउन सुगरसहित दुई परे प्रहरीको फन्दामा

८ भाद्र २०७७, सोमबार २०:१८
  नेपालगञ्ज : बाँके प्रहरीले सोमबार दिउसो साढे ३ बजेको समयमा प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरीले नेपालगञ्ज– १३ किसान ईट्टाभट्टा स्थित जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण व्युरो नेपालगञ्ज बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सोही […]