नेपालगञ्ज : पत्रकारिता अध्यापनमा देशकै अग्रणी संस्था नेपाल प्रेस इन्स्टिच्यूट र बर्नमथ विश्वविद्यालय लण्डनले हालै सम्पन्न गरेको कोरोना भाईरस (कोभिड—१९)ले नेपाली पत्रकारितामा पारेको असरबारेको सर्भेक्षण रिपोर्ट सार्वजनिक गर्ने भएको छ ।
भाद्र ३ गते बुधवार २ बजे जुम अनलाईन प्रविधिमार्फत् रिपोर्ट सार्वजनिक हुने कार्यक्रम तय भएको कुरा नेपाल प्रेस इन्स्टिच्यूटका कार्यकारी निर्देशक वरिष्ठ पत्रकार लक्ष्मण उप्रेतीले जानकारी दिए ।
म्यागजिन स्वरुपमा रहेको रिपोर्ट नेपाली र अंग्रेजी भाषामा ५२ पेजको रहेकोछ । यसको पीडिएफ भर्सन ५० पेजको रहने एनपीआईका कार्यकारी निर्देशक उप्रेतीले जानकारी गराए ।
नेपाली पत्रकारितामा कोरोना भाईरस (कोभिड—१९)ले पारेको असरबारे देशभरीका पत्रकारहरुलाई अनलाईनमार्फत् सर्भेक्षण गरिएको थियो ।
सर्भेक्षण कार्यमा एनपीआई केन्द्रीय कार्यालय काठमाडौं, एनपीआई विराटनगर कार्यालय र एनपीआईको नेपालगञ्ज कार्यालयले पत्रकारहरुलाई ईमेल ठेगानामा तथा पत्रकारहरुको सामाजिक सञ्जालमा सर्भेक्षण फारामको लिंक पठाएका थिए । सर्भेक्षण असार २६ गतेदेखि साउन ९ गतेसम्म (१५ दिन) सञ्चालन भएको थियो भने सर्भेक्षण फाराममा २० वटा प्रश्नावली रहेको थियो ।