सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : गौहत्या प्रकरणको छानबिनका लागि गृहमन्त्रालयको टोली सुर्खेत पुगेको छ । सुर्खेतको कटकुवा र सुब्बाकुना नजिकैको भीरमा मृत भेटिएका गाईगोरुको विषयमा छानबिन गर्न गृहमन्त्रालयको टोली नेपालगञ्ज हुँदै सुर्खेत पुगेको हो ।
गृहमन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक तथा उप–सचिव सागरमणि पाठकले नेपालगञ्जबाट गाईगोरु मृत भेटिएको बारेमा अनुसन्धान अघि बढाएको जानकारी दिए । समितिले घटनाको वस्तुगत तथ्य पत्ता लगाउने र आगामी दिनमा यस्ता समस्या उत्पन्न हुन नदिन सुझाबसहितको प्रतिवेदन गृह मन्त्रालयलाई दिने पाठकले बताए । टोलीले नेपालगञ्जको काञ्जिहाउसको अनुगमन गरिसकेको छ ।
यसैबीच नेपालगञ्ज उपमहानगर नगरपालिकाले गठन गरेको छानबिन टोली पनि दैलेख पुगेर सुर्खेत आएको छ । समितिले सुर्खेत र दैलेख पुगेर छानबिन गरेको समितिका संयोजक विकास आचार्यले जानकारी दिए । उनले नेपालगञ्जको काञ्जिहाउसदेखि गाई मृत भटिएको घटनास्थलको स्थलगत अध्ययन गरिएको बताए ।
घटनाको सम्पूर्ण विवरण १५ दिनभित्रै सार्वजनिक हुने उनको भनाई छ । घटनामा संलग्न रहेको आरोपमा आठजना गाई बोक्ने ट्रक चालक र सहचाल पक्राउ परेका छन् । ट्रकका चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी, सहचालकहरू सरोज विश्वकर्मा, कमलप्रसाद नेपाल र अमृत चौधरीलाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।
यस्तै, गाई ल्याउन प्रयोग गरिएका ना ५ ख ६६७४, ना ६ ख ४९४९, ना ६ ख ९१७७, ना ६ ख ९९०५ र ना ६ ख १०१५ नम्बरका ट्रकलाई पनि प्रहरीले नियन्त्रणमा राखेको छ । नेपालगञ्जबाट दैलेख लैजान लागिएका भनिएका गाई भदौ १३ गते वीरेन्द्रनगरको कटकुवा र सुब्बाकुनाको भीरमा मृत भेटिएका थिए । नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २ सय ९१ गाईमध्ये वीरेन्द्रनगरको कटकुवा र सुब्बाकुनामा ३६ वटा गाईगोरु मृत अवस्थामा भेटिएका थिए ।
गौहत्याको विरोधमा गुल्मीमा विरोध प्रदर्शन
गौहत्याको विरोधमा गुल्मीमा प्रदर्शन भएको छ । गत शुक्रवार बिहान सुर्खेतको कटकुवा र सुब्बाकुना नजिकैको भीरमा दुई दर्जन बढी गाईगोरु मरेको अवस्थामा भेटिएका थिए । सोही घटनाको विरोधमा बुधबार विश्वहिन्दु महासंघ गुल्मीले जिल्ला सदरमुकाम तम्घासमा प्रदर्शन गरेको हो ।
तम्घासमा निकालिएको प्रदर्शनमा गौहत्याका हत्यारालाई कारवाही गर, गौ हाम्रा माता हुन भन्ने प्ले कार्डहरूसहित उनीहरूले बजार परिक्रमा गरेका थिए । गौहत्याका दोषीलाई अविलम्ब कठोर कारवाही गर्न माग गरेका छन् । सुनियोजितरूपमा गौहत्या गरी जनताको आस्था र धर्ममाथि प्रहार भएको भन्दै विश्व हिन्दु महासंघ गुल्मीले उक्त घटनाको विरोध गरेको गरेको अध्यक्ष शुरेसचन्द्र भुसालले बताए ।
उनले गौहत्याका अपराधीलाई पत्ता लगाई हदैसम्मको कारवाही गर्न मागसमेत गरेका छन् । उनीहरूले प्रदर्शनपश्चात गौहत्यारालाई कार्वाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापन पत्रसमेत पठाएका छन् ।