माघे संक्रान्ति हर्षोल्लासका साथ मनाईंदै

१ माघ २०७६, बुधबार १६:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : माघे संक्रान्ति पर्व बुधवार बाँकेसहित तराईका जिल्लामा हर्षोल्लासका साथ मनाईंदै छ । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ ।
थारु समुदायले आज माघी पर्व मनाउँदैछन् भने मधेशी समुदायले खिचडी खाएर खिचडी पर्व मनाउँदै छन् । ज्योतिष शास्त्रनुसार सौरमानको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो ।
सामान्यतयः सूर्यले सबै राशिलाई प्रभावित गरेपनि सूर्यको कर्कट राशि र मकर राशि प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।



यसैबीच माघे संक्रान्तिको अवसरमा आज नेपालगञ्जस्थित हुनमत गौशालामा खिचडी खुवाइएको छ । नेपालगञ्जको बागेश्वरी मन्दिर नजिक रहेको हुनमत गौशालामा पर्वका अवसरमा खिचडी खुवाइएको हो ।
कार्यक्रममा करीब एक हजार बढिले खिचडी ग्रहण गरेको गौशालाका सचिव बिश्वजित तिवारीले जानकारी दिए । हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समिति र सुन्दरकाण्ड मित्र मण्डलद्वारा प्र्रसाद बितरण गरिएको हो ।
खिचडी खान नेपालगञ्जका ठुला व्यापारीहरुसमेत पुगेका थिए । प्रत्येक वर्ष माघे संक्रान्तिका अवसरमा प्रसाद बितरण कार्यक्रम गर्दै आएको समितिले बिभिन्न धार्मिक कार्यक्रमहरु आयोजना गर्ने गरेको समितिका सचिव तिवारीले बताए ।
यसैगरी संक्रान्तिका अवसरमा नेपालगञ्जका बिभिन्न ठाउँमा प्रसाद बितरण गरिएको छ । त्रिभुवन चोक, नेपालगञ्जको गणशमान चोक नजिक औद्योगिक क्षेत्र अगाडीलगायतका ठाउँमा प्रसाद वितरण गरिएको हो ।
त्रिभुवन चोकस्थित नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलगायतको समन्वय तथा सहयोगमा संघको कार्यालय अगाडी दिनभरीनै खिचडी बितरण गर्ने र साँझ पुडी कचौडी वितरण गर्ने गरिएको छ । संक्रन्तिका अवसरमा दाङको रिहारमा ठूलो मेला लागेको छ ।

Next Post

पाकिस्तान नियन्त्रित काश्मीरमा ६२ जनाको मृत्यु

१ माघ २०७६, बुधबार १६:५७
सदरलाइनडटकम, काठमाण्डौ : पाकिस्तान नियन्त्रित काश्मीर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परेर ६२ जनाको मृत्यु भएको छ । घटनाका कारण अन्य ५३ जना घाइते भएको र २८ जना हराइरहेको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार कुल ५८ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । प्रकोप व्यवस्थापन कार्यालयका अधिकारीहरुले घटनास्थलबाट […]