राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ कचनापुर क्षेत्रमा राप्ती नदीले गरि रहेको कटानको स्थलगत अनुगमन गरी कटानबाट हुनसक्ने जोखिमबाट जोगाउन ततकाल पहल गर्ने भएको छ ।
गाउँपालिकाका अध्यक्ष लाहुराम थारुसहितको टोलीले नदी कटानको अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले जानकारी दिए । सो अनुगमनमा गाउँपालिका अध्यक्ष थारु, पूर्व मन्त्री प्रेमबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बस्नेत, वडा नम्बर २ का वडाध्यक्ष मदन ओली लगायतको सहभागिता रहेको थियो ।
नदी कटानको अनुगमन गर्दै अध्यक्ष थारुले रोकथामका लागि तत्काल कदम चाल्ने बताए । उनले सो स्थानमा तटबन्धका लागि संघ र प्रदेश सरकारसँग पहल गर्ने बताए ।
पूर्व मन्त्री भण्डारीले कटान नियन्त्रणका लागि सक्दो पहल गरी पार्न सक्ने जोखिमबाट बचाउन सबैको ध्यान केन्द्रीत हुनुपर्ने बताए । राप्ती नदीले बहाव परिवर्तन गर्दा राप्तीसोनारी गाउपालिकामा क्षेत्रमा सयौं विगाह जग्गा कटान भइरहेको छ ।