सदरलाइनडटकम,
नेपालगञ्ज : जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि शील गरिएको नेपालगञ्ज उपमहानगरपालिकामा आइतवारदेखि सेवा सुचारु हुने भएको छ । नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणाले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा आइतवारदेखि निरन्तरता दिन लागिएको जानकारी दिए ।
उपमहानगरपालिकासँगै सम्पूर्ण २३ वटै वडा कार्यालय पनि आइतवारदेखि सुचारु हुने मेयर राणाले बताए । नेपालगञ्ज उपमहानगरपालिकामा कोरोनाविरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्धारमा हेल्थ डेस्क सञ्चालन गरिएको छ ।
सेवाग्राहीले कार्यालयमा प्रवेश गर्नासाथ साबुन पानीले हात धुने, सेनिटाईजरसहित ज्वरो नाप्ने ब्यवस्थासमेत मिलाइएको छ । उपमहानगरपालिकाले सेवाग्राहीलाई सेवा लिन आउँदा मास्क र सेनिटाईजरको प्रयोग गर्न तथा भिडभाड नगर्न आग्रह गरेको छ ।
