काँग्रेस महाधिवेशन समयमै हुनु पार्टीको वैधानिक, नैतिक र राजनीतिक आवश्यकता होः महामन्त्रीका उम्मेदवार महर

सदरलाइन संवाददाता १६ बैशाख २०८२, मंगलवार १९:१९
 

काठमाडौं :  नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा १५औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टीको महाधिवेशन कुनै पनि बहानामा सार्न नहुने बताएका छन् ।

उनले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्नु पार्टीको वैधानिक, नैतिक र राजनीतिक आवश्यकता भएको स्पष्ट पारे । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्व तहबाटै विभिन्न कोणबाट मिति सार्न सकिने चर्चा चलिरहेका बेला, नेता महरले समयमै हुने महाधिवेशनले मात्र पार्टीलाई पुनर्जीवन दिन सक्ने तर्क प्रस्तुत गरेका हुन ।

काठमाडौंको बानेश्वरमा पार्टीका अगुवा कार्यकर्तासँग भएको विशेष अन्तक्र्रियामा बोल्दै नेता महरले भने–‘नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीका लागि आवधिक महाधिवेशन लोकतान्त्रिक जीवन्तताको आधारस्तम्भ हो । यो केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको नीति, विचार र आगामी कार्यदिशा तय गर्ने सर्वोच्च थलो पनि हो । विधानले निर्दिष्ट गरेको मितिमा महाधिवेशन सम्पन्न गर्नु वर्तमान नेतृत्वको पहिलो र अनिवार्य दायित्व हो र त्यसका लागि तयारी थाल्नुपर्छ ।’


उनले महाधिवेशन समयमै नगर्दा पार्टी पंक्तिमा गम्भीर निराशा छाउने र यसले सांगठनिक गतिहीनता निम्त्याउने चेतावनी दिए । ‘कुनै पनि प्राविधिक वा राजनीतिक बहानामा महाधिवेशन पछि धकेल्ने प्रयास गरिनु दुर्भाग्यपूर्ण हुनेछ । यसले पार्टीको आन्तरिक लोकतन्त्रमाथि नै प्रश्न उठाउँछ र कार्यकर्ताको पार्टीप्रतिको विश्वास कमजोर बनाउँछ’– महरले थपे–‘समयमै हुने महाधिवेशनले मात्र पार्टीभित्र नयाँ ऊर्जा र विचारको प्रवाह सुनिश्चित गर्छ, नेतृत्व हस्तान्तरणको स्वाभाविक प्रक्रियालाई अघि बढाउँछ र गुटबन्दीलाई निरुत्साहित गर्दै एकताको सन्देश दिन्छ ।’

नेता महरले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनको तयारीका लागि पनि पार्टीको महाधिवेशन समयमै सम्पन्न हुनु अत्यावश्यक रहेको बताए । ‘एकताबद्ध, ऊर्जावान र वैचारिक रूपमा स्पष्ट कांग्रेसले मात्रै आगामी चुनावमा सफलता हासिल गर्न सक्छ । यसका लागि महाधिवेशनबाट अनुमोदित नयाँ नेतृत्व र कार्यदिशा अनिवार्य छ’– उनले निष्कर्ष छ ।

नेता महरको यो दृढ अडानले नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र प्रक्रियाबारे भइरहेको बहसमा नयाँ तरंग सिर्जना गरेको छ र समयमै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा थप दबाब बढाएको विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा सिमा क्षेत्रका सरोकारवालालाई मानब बेचबिखन बिरुद्ध तालिम

१६ बैशाख २०८२, मंगलवार १९:१९
  मधुबन (बर्दिया) :  प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत मधुबन नगरपालिकाको आयोजनामा सिमा क्षेत्रका कर्तब्य पालक तथा सरोकारवालाका लागि मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध २ दिने तालिम सम्पन्न भएको छ । मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण बारे सिमा क्षेत्रका कर्तब्य […]