जनै पूर्णिमा पर्व आज देशभर मनाइँदै

१९ श्रावण २०७७, सोमबार १३:०६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा तागाधारीले सोमबार देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । आज कै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।


तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्दछन् ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ ।

रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि बागेश्री मन्दिर परिसर र अन्य मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण धार्मिक स्थलहरु बन्द धएका कारण मानिसको भिड छैन ।

Next Post

बाँकेका थप एक जना कोरोनामुक्त

१९ श्रावण २०७७, सोमबार १३:०६
सदरलाइनडटकम, नेपालगञ्ज : सोमवार बाँकेका थप १ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन । कोरोनामुक्त भई सोमवार ती व्यक्ति घर फर्केका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आइसोलेशन सेन्टर आदर्शनगर नेपालगञ्जबाट नेपालगञ्ज १९ का २० बर्षीय पुरुष कोरोनामुक्त भइ घर गएका हुन् । योसँगै […]

सम्बन्धित