सदरलाइनडटकम,
नेपालगञ्ज : उपचारको क्रममा विरामीको मृत्यु प्रकरणमा विरामीका आफन्तद्वारा भएको प्रर्दशनको विषयमा नेपाल चिकित्सक संघ नेपालगन्जले गम्भीर आपत्ती जनाएको छ ।
वेष्टर्न अस्पतालमा उपचारको क्रममा एकजना विरामीको मृत्युपछि मृतकका आफन्तहरुले चिकित्सकको लापरबाहीको कारण विरामीको ज्यान गएको भन्दै प्रदर्शन गरेका थिए ।
संघले विरामीको मृत्युको बिषयलाई लिएर उपचारमा संलग्न चिकित्सक तथा समग्र चिकित्सकहरुकै मानमर्दन हुने गरी चिकित्सकलाई हत्याराको संज्ञा दिएर प्रर्दशन गरेको प्रति गम्भीर आपत्ती जनाएको हो ।
शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी संघले चिकित्सकहरुलाई हत्यारा जस्तो आरोप लगाईएको कुरा स्विकार्य नहुने चेतावनी समेत दिएको छ ।
गत असार १६ गते उपचारका क्रममा बर्दिया राजापुर–१० कि ४३ बर्षिया नारायणीकुमारी बोहराको मृत्यु भएको थियो । पीडितहरुले चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै विहीबार नेपालगञ्जमा नारावाजी गर्दै अस्पतालमा धर्ना दिएका थिए ।
सो घटना छानविन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको नेतृत्वमा समिति बनिसकेको छ । चित्तनबुझे कानुन बमोजिम न्यायको बाटो रोज्नुको सट्टा समग्र चिकित्सकलाई नै अपमानित र हतोत्साही गर्ने गरी नारावाजी गर्नु दुर्भाग्यपूर्ण भएको संघको भनाइ छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा.विनोद कर्ण, भेरी अस्पताल नेपालगन्जका मेसु डा.प्रकाश थापा, डा. संकेत रिसाललगायतको उपस्थिति रहेको थियो ।