आजबाट यमपञ्चक अर्थात् तिहार शुरु

८ कार्तिक २०७६, शुक्रबार १७:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आज (शुक्रवार)देखि नेपाली हिन्दूधर्मालम्बीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अर्थात् यमपञ्चकको पहिलो दिन आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान शुक्रवारदेखि शुरु हुने भएपनि काग तिहार कात्तिक ९ गते शनिवार परेको छ ।
यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिवार नै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । कार्तिक १० गते आइतवार बिहान नरक स्नानसहित कुकुर पूजा र बेलुकी लक्ष्मीपूजा गर्न समितिको सुझाव छ । गाई, गोरु र आत्म (म्ह) पूजा यस वर्ष कात्तिक ११ गते परेको छ । ११ गते बिहान ९ बजेर ४३ मिनटसम्म औँशी तिथि परेको छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा को साइत सोही दिन परेको हो ।
तिहारको मुख्य दिन भाइटीका कार्तिक १२ गते मंगलवार परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५५ मिनटमा परेको छ । मंगलवार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको समितिले प्रस्ट पारेको छ ।
भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको निस्कर्ष छ । तिहार सुरु नहुदै बुटवल लगायत देशका मुख्य शहरहरुमा झिलिमिलि बत्ती बाल्न शुरु भइसकेको छ ।

Next Post

‘क्यार’ चक्रवातको नेपालमा आंशिक प्रभाव

८ कार्तिक २०७६, शुक्रबार १७:४९
सदरलाइनडटकम, काठमाण्डौ : अहिले अरब सागरमा बनेको ‘क्यार’ नामक चक्रवातको आंशिक प्रभाव नेपालमा पनि परेको छ । यसकै प्रभावका कारण काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । चक्रवातको आंशिक प्रभावका कारण पूर्वी क्षेत्रका झापा, मोरङलगायतका ठाउँमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिए । उनका […]