ज्यानमार्ने धम्की आएपछि स्वास्थ्यकर्मीले प्रहरी गुहारे

२९ बैशाख २०७७, सोमबार २२:३१
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बांँकेको खजुरा गांउँपालिका अन्तर्गतको स्वास्थ्य चौकीका कर्मचारीहरुलाई स्थानीय केही ब्यक्तिहरुले ज्यान मार्ने धम्की दिएपछि कर्मचारीहरुले सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् ।

गाउँंपालिकाको सोनपुर स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारीहरुलाई स्थानीय रफी भाटसहितको समुहले कार्यालमा आएर ज्यान मार्ने धम्की दिएको भन्दै कर्मचारीहरुले प्रहरीसंग सुरक्षा मागेका हुन् ।

कर्मचारीहरुलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्नेसम्मको गालीगलौज गरेको र भाटसहितले कार्यालयमा आई कर्मचारीहरुमाथि अभद्र ब्यवहार गरेको स्वास्थ्य चौकी ईन्चार्ज सुदिप पौडेलले बताए ।

कार्यालय परिषरमै आएर ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वाताबरण नभएकाले सुरक्षाको प्रत्याभुति दिलाउन धम्की दिनेहरु माथि कानुनी कारवाही गर्न उनीहरुले प्रशासनलाई आग्रह गरेका छन् । चौकी ईन्चार्ज पौडेलका अनुसार स्वास्थ्य चौकीमा नजन्मेको बच्चालाई स्वास्थ्य चौकी मै जन्मेको प्रमाणीकरण गरि दिन भनेकोमा आफुले अस्विकार गर्दा धम्की दिएका हुन् ।

बैशाख २६ गते प्रसुती गराउन आएकी रफि भाटकी श्रीमतीलाई स्वास्थ्य चौकीकी महिला कर्मचारीले सुत्केरी ब्यथा नलागेको भन्दै घर फर्काईदिएका थिए । धम्की दिने रफी नेपाली काँग्रेसका कार्यकर्ता भएको जानकारीमा आएको छ ।

कोरोना भाइरसको संक्रमणको आशंकामा स्वास्थ्यकर्मीहरुले धमाधम स्वाब संकलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्य चौकीको सेवा प्रभावित भएको छ ।

यसैबीच इप्रका धनौलीका ईन्चार्ज प्रहरी पोषणराज थपलियाले सोनपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले आफुहरु माथि जिउज्यानको सुरक्षा गरी पाउ भन्दै कार्यालयमा निबेदन दिएको र सो उपर अनुसंधान सुरु भएको बताए ।

Next Post

नेपालमा थप १३ जनामा कोरोना पुष्टी

२९ बैशाख २०७७, सोमबार २२:३१
सदरलाइनडटकम, नेपालगञ्ज :  नेपालमा सोमबार थप १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या १३४ पुगेको छ भने निको हुनेको संख्या ३३ पुगेको छ । […]