‘गुणस्तरीय काम गर्ने व्यवसायीलाई सम्मान गरिने’

सदरलाइन संवाददाता ४ फाल्गुन २०८०, शुक्रबार १७:४५
 

नेपालगञ्ज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विकास निर्माणका आयोजनामा हुनेगरेको ढिलासुस्ती र गुणस्तरमा सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् ।

राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको स्थलगत अनुगमन तथा निरीक्षणपछि शुक्रबार बाँकेको खजुरामा आयोजित अन्तरक्रियामा मन्त्री ज्वालाले भने, ‘ठेक्का लिने, काम नगर्ने निर्माण व्यवसायी र काम बिगार्ने कर्मचारीलाई कारवाहीको दायरामा ल्याएका छौं, यसमा कुनै पनि खालको सम्झौता गरिने छैन ।’

मन्त्री ज्वालाले विकास निर्माणमा समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न मन्त्रालयको विशेष जोड रहनेगरेको बताए । बजेट ब्यवस्थापन सरकारको जिम्मेवारी रहेको भन्दै उनले निर्माण ब्यवसायीले समयभित्र काम सम्पन्न गर्न लाग्नुपर्ने बताए । उनले समयभित्र गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मानको नीति लिइएको बताए ।

विकास निर्माणमा तीन वटै तहका सरकारबिच आपसी समन्वय र सहकार्य जरुरी भएको भन्दै उनले विकासलाई साझा सवालको रुपमा अघि बढाउन सुझाव दिए ।

हुलाकी सडक अन्तर्गत बाँके र बर्दियाका विभिन्न स्थानसहित मन्त्री ज्वालाले परस्पुर–गौघाट सडक खण्डको समेत स्थलगत निरीक्षण गरे । नेपालगञ्ज–गुलरिया सडक निर्माण सुरु भएको एक बर्षमा ५७ प्रतिशत प्रगति भएको छ भने परस्पुर–गौघाट सडक निर्माणमा ढिलाइ भएको छ ।


मन्त्री ज्वालाले नेपालगञ्ज–गुलरिया खण्डमा निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन बाँकी रहेको भन्दै अर्थ मन्त्रालयमा बजेट माग गरिएकाले कामलाई निरन्तरता दिन आग्रह गरे ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार मूल्य अभिवृद्धि कर बाहेक दुई अर्ब ७८ करोड ४१ हजारमा २०८२ मङ्सिर २७ गते सम्पन्न गर्नेगरी गत वर्ष माघ २५ देखि शर्मा एण्ड कम्पनीले काम शुरु गरेको हो ।

योजना प्रमुख भण्डारीले भने, ‘निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन नसक्नु ठुलो समस्या देखिएको छ ।’ खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिकले हुलाकी सडकको काम तीव्र गतिमा अघि बढेको भन्दै खजुरा बजारमा ६ वर्षअघि निर्माण सुरु भएको एक हजार ८०० मिटर चार लेन सडकको काम छिटोभन्दा छिटो सम्पन्न गर्न र पेडारी नालामा पक्की पुल निर्माणका लागि मन्त्री ज्वालाको ध्यानाकर्षण गराए ।

खजुराबासीले समेत यस विषयमा ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएपछि मन्त्री ज्वालाले सडक निर्माणका लागि पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले काम गरेबापत ४४ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए ।

शर्माले भने, ‘समयमै रकम निकासा हुने हो भने अबको एक वर्षभित्र काम सम्पन्न हुन्छ, कम्तीमा २० किलामिटर सडक यस बर्ष कालोपत्रे गरिसकिने छ ।’ २७.६२ किलोमिटर लामो यो सडकमध्ये ११.६ किलोमिटर चार लेन सडक बन्दैछ । हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक अजय मूलसहित मन्त्री ज्वालाले हुलाकी सडकको स्थलगत अनुगमन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नौबस्ता बालसुधार गृहमा स्वास्थ्य शिविर

४ फाल्गुन २०८०, शुक्रबार १७:४५
नेपालगञ्ज : बालसुधार गृह नौबस्ता बाँकेमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा बाल सुधार गृहमा रहेका बालकहरुको शुक्रबार निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । नौबस्तामा बालसुधार गृह स्थापना भएदेखि अहिलेसम्म स्वास्थ्य जाँच नगराएका बालकहरुले […]