सदरलाइनडटकम,
जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत चिकित्सक नवीन सहनीमाथि स्थानीय युवाहरूले आक्रमण गरेका छन् । आक्रमणबाट घाइते भएका सहनीको अनुहारमा दुईवटा टाँका लगाइएको छ ।
शुक्रवार साँझ केही युवाहरुले आक्रमण गरी चिकित्सकलाई घाइते बनाएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । स्थानीय तिलक सिंह, चक्र वुढा र पदम नेपालीलाई प्रहरीले पक्राउ गरेको प्रजिअ पन्तले जानकारी दिए ।
चिकित्सकमाथि आक्रमण गर्नुको कारण अनुसन्धानपछि मात्रै पत्ता लाग्ने प्रहरीले जनाएको छ । डाक्टर सहनी नेपाल सरकारको छात्रवृत्ति कोटामा अध्ययन गरेर दुई वर्षका लागि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा खटिएका हुन् ।
