नेपालगञ्ज : नेपालगञ्जमा शुक्रवार बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । भेरी अस्पतालको प्रांगणमा रहेको रक्त सञ्चार केन्द्रमा रक्तदान गरिएको हो ।
योग समिति नेपालका अध्यक्ष्य एवं योग गुरु गिरिराज भट्टराइको जन्मदिनका अवसरमा गरिएको रक्तदानमा रक्तदाताहरुले स्वस्फूर्तरुपमा सहभागिता जनाएका थिए ।
कार्यक्रममा तीन दर्जनले रक्तदान गरेको कार्यक्रम संयोजक निर्मला शाहले जानकारी दिनुभयो । रगतको अभावमा कसैको मृत्यु नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको योग गुरु भट्टराइले बताए ।
सामुृहिक तथा व्यक्तिगतरुपमा रक्तदान गर्नेको संख्या बढेपछि रक्त सञ्चार केन्द्रमा रगतको अभाव नभएको केन्द्रले जनाएको छ । पछिल्लो समय मुस्लिम तथा मधेसी समुदायले पनि स्वस्फूर्तरुपमा रक्तदान कार्यक्रममा सहभागी हुने गरेको रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए ।