सदरलाइनडटकम,
दाङ : हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा फरार एक जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ । कुमाख गाउँपालिका २ का ४६ वर्षीय भिमबहादुर भन्ने भिमे रावतलाई प्रहरीले पक्राउ गरेको हो ।
कुमाख गाउँपालिका ४ स्थित भेरी नदीको किनारमा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आपराधिक प्रवेश तथा अपराधिक उपद्रव सम्बन्धी कसुर र सार्वजनिक शान्तिविरुद्ध कसुरमा फरार रावतलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।
पक्राउ परेका रावतलाई जिल्ला अदालत सल्यानबाट पहिलो पटक १५ दिनको म्याद थप लिई ईलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
