तिहारको पाँचौ दिन शुक्रवार भाइटीका मनाईंदै

२३ कार्तिक २०७५, शुक्रबार १६:०३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : यमपञ्चकअन्तर्गत तिहारको पाँचौ दिन शुक्रवार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङी टीका लगाई मनाइँदैछ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्दा अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताए । मध्यान्ह ११ बजेर ५५ मिनेटको समय भाइटीकाका लागि उत्तम रहेपनि शुक्रवार दिनभर टीका लगाउन कुनै बाधा नभएको उनले जानकारी दिए ।
टीका लगाइदिने पश्चिम र टीका लगाउनेले पूर्व फर्केर टीका लगाउँदा शुभ हुने अध्यक्ष गौतमको भनाइ छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वस्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङी टीका लगाउने भनि प्रचार गरिएपनि शास्त्रीय मान्यताअनुसार तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको अध्यक्ष गौतमले बताए । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
मधेशी समुदायमा भुर्की पूजन


यसैबीच बाँकेलगायत देशका विभिन्न जिल्लामा बसोबास गर्ने मधेशी समुदायमा शुक्रवार भुर्की पूजन गरिएको छ । मधेशी समुदायमा भाई टीकाका दिन भुर्की पूजा गर्ने चलन छ । सामुहिकरुपमा गरिने पूजामा दिदीबहिनीले चिउरा भुर्कीको पूजा गरी दाईभाईलाई चिउरा भुर्की खुवाई टीका लगाइदिने गर्दछन् ।



अटल सौभाग्य, सुस्वास्थ्य, दीर्घायूको कामना गर्दै टीका लगाईदिने चलन छ । टीका थापेपछि दाईभाईले गच्छअनुसार दिदीबहिनीलाई दक्षिणा दिने गरिन्छ । मधेशी समुदायमा दिदीबहिनीले सामुहिकरुपमा भुर्की पूजा गर्ने गर्दछन् ।

Next Post

तिहारलगत्तै छठको तयारीमा जुटे मिथिलावासी

२३ कार्तिक २०७५, शुक्रबार १६:०३
सदरलाइनडटकम, महोत्तरी : तिहार सकिएलगत्तै मिथिलावासी छठको तयारीमा जुटेका छन् । अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका हुन् । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रूपमा छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् । […]

सम्बन्धित