सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशन वार्डमा उपचारको लागि भर्ना भएका बर्दिया गुलरियाका एक जनाको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
मेडिकल कलेज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किडवाईका अनुसार रुघाखोकी दमबाट ग्रसित रहेका बर्दिया गुलरियाका ईसराईल बेहनाको अस्पतालको आईसोलेसन आईसियु वार्डमा उपचारको क्रममा मृत्यु भएको हो । उनी दुईदिन अघि उपचारको लागि अस्पताल भर्ना भएका थिए ।
दुईदिन अघि कोरोनाको लक्षणसंग मिल्दोजुल्दो अवस्थामा सिरियस रुपमा उपचारको लागि अस्पताल आएको बताए । उनले अस्पताललाई आरडिटी किट उपलब्ध नगराइएको कारण आउने बिरामीमा कोरोना संक्रमण भए नभएको जाँच गर्न कठिन भएको बताए ।
डा. किडवाईले उनको रेपिड डाईगोनोस्टिक टेस्ट किटको अभावमा जाँच हुन नसक्दा केहो भन्ने यकिन हुन नपाउदै उपचारको क्रममा मृत्यु भएको बताए । उनले अस्पताललाई किट उपलब्धता गराउन माग समेत गरे ।
उनले विरामी अस्पतालमा आएदेखि स्वाव लिईदिन र आरडिटी किटबाट जाँच गरिदिनको लागि पटक–पटक स्वास्थ्य कार्यालय बाँकेलाई आग्रह गर्दा पनि बेवास्ता गरिएको बताए ।
यता स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले स्वाव कलेक्सन अस्पतालले नै गर्नु पर्ने बताउदै अस्पतलाले कलेक्सन गरेको स्वाव कार्यालयले जाँचको लागि पठाउने व्यवस्था मात्र मिलाउने जानकारी दिए । बेहनाको स्वाव उनको मृत्यु भएपछि मात्र कलेक्सन गरी कोरोनाको संक्रमण भए नभएको जाँचको लागि पठाउन लागिएको अस्पताल स्रोतले जनाएको छ ।