सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाईरस संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै बाँकेका थप चार स्थानमा ‘हेल्प डेस्क’ सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको अगुवाईमा कुसुम बजार, मान खोला नजिक, कोहलपुर चोक र धम्बोझी चोकमा ‘हेल्प डेस्क’ सञ्चालन गरिएको हो ।
कोरोनाको संक्रमण फैलिन नदिन तथा सम्भावित जोखिमको पहिचान गर्न स्वास्थ्यकर्मीसहितको ‘हेल्प डेस्क’ सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
स्थानीय तह तथा नेपाली सेनासँगको समन्वयमा सञ्चालन गरिएको ‘हेल्प डेस्क’ले राजमार्ग क्षेत्रमा अनावश्यकरुपमा भईरहेको सवारी आवतजावतलाई समेत कडाई गर्ने बताईएको छ ।
