सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिका वडा नं. ६ मा बन्ने भनिएको औद्योगिक ग्रामका लागि जग्गा छुट्याइने भएको छ । पहिलो चरणमा जग्गा नापजाँच गरी २१ विगाहा जमिन छुट्याउन लागिएको हो ।
सो सरकारी जग्गामा केही मानिसहरु बसोबास गरेको र केहीले जोतभोग गरिरहेकाले उनीहरुको व्यवस्थापन गर्दै जग्गा नापजाँच गरिने भएको हो । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा उपभोग गरिरहेको पक्ष, राजनीतिक दलका प्रतिनिधिसहित आइतवार बसेको बैठकले खजुरा गाउँपालिका वडा नं. ६ स्थित औद्योगिक ग्रामका लागि स्वीकृत भएको जग्गा पहिचानका लागि प्राविधिक खटाई नापजाँच गर्न सो कार्यमा सरोकारवाला र स्थानीयबासीले सहयोग गर्ने, जग्गा पहिचान भई आएपछि औद्योगिक ग्राम स्थापनाका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णय भएको खजुरा गाउँपालिका सूचना अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले नापी गरेपछि २१ विगाहामा तारबार गरिने बताउँदै भोग गरेकाहरुको आवश्यकताका आधारमा व्यवस्थापन गरिने बताए । खजुरामा औद्योगिक ग्राम निर्माणका लागि सरकारले टोकन मनीको रुपमा ९२ लाख रुपैयाँ हस्तान्तरण समेत गरेको छ । खजुरा क्षेत्रका राजनीतिक दलका प्रतिनिधिहरु सरकारको सहयोग गर्दै औद्योगिक ग्रामको काम अगाडि बढाउन लागिपरेका छन् ।