नेपालगञ्ज : नेपालगञ्जमा दादुरा संक्रमितको संख्या बढिरहेको छ । दैनिक १८ जनाभन्दा बढी संक्रमित फेला परिरहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकामा संक्रमितको संख्या सय नाघिसकेको छ । यहाँका १० वटा वडामा संक्रमित फेला परेका छन् । सबैभन्दा धेरै वडा नं. ८ मा २९ जना संक्रमित फेला परेका छन् । वडा नं. ७ मा २८, वडा नं. ११ मा २१, वडा नं. ५ मा १५ जना संक्रमित भेटिएका छन् । बाँकेको खजुरामा दुई जना संक्रमित फेला परेका छन् ।
नेपालगञ्जमा १ सय ८ र खजुरामा २ जना गरि जिल्लामा दादुरा संक्रमितको संख्या १ सय १० पुगेको छ । जसमध्ये १ जनाको मृत्यु भइसकेको छ । दुई जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ ।
भेरी अस्पतालमा उपचार भइरहेका विरामीसँग अस्पतालले शुल्क लिएपछि वडाबाट उपचारका लागि सिफारिस गरी पठाएका स्वास्थ्यकर्मीले आक्रोश पोखेका छन् । निःशुल्क उपचार हुन्छ भन्दै दादुरा संक्रमितको खोजपडतालमा निस्केका स्वास्थ्यकर्मीले अस्पतालले विरामीसँग पैसा लिएपछि काम गर्न अप्ठ्यारो भएको बताएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले संक्रमण फैलिएको नेपालगञ्जमा संक्रमितलाई भेरी अस्पतालले निःशुल्क उपचार गर्नुपर्नेमा शुल्क लिएपछि काम गर्न अप्ठ्यारो परेको बताए ।