सदरलाइनडटकम,
नेपालगञ्ज : थरुहट थारुवान राष्ट्रिय मोर्चाले दुई दिनका लागि बन्द आव्हान गरेको छ । मोर्चाले फागुन २० र २१ गते थरुहट तराई भूगोलका सबै जिल्लाहरु आमहडताल र चक्का जामसहित बन्द आव्हान गरेको हो ।
मोर्चाका संंयोजक लक्ष्मण थारुका अनुसार संघर्षका कार्यक्रमअन्तर्गत मोर्चाले फागुन १९ गते थरुहट तराई क्षेत्रमा मसाल जुलुस प्रदर्शन गर्ने भएको छ । सरकारी तथा निजी सवारी तथा मालबाहक यातायातका सबै साधनहरु, शैक्षिक संस्था, उद्योगधन्दा, कलकारखाना, व्यपार व्यवसाय पूर्णतया बन्द रहने मोर्चाले जानकारी दिएको छ ।
आम हड्तालको समयावधीमा अत्यावश्यकीय सवारी साधनहरु दमकल, एम्बुलेन्स, शव बाहन, दुध बोक्ने, औषधीजन्य, सुरक्षा निकाय, वैवाहिक, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु निर्वाधरुपमा सञ्चालन हुन पाउने मोर्चाले जनाएको छ ।
थरुहट आन्दोलनको माग मुद्दाहरु एवं सरकारले थरुहट आन्दोलनकर्मीहरुसंग गरेका सहमती सम्झौता कार्यान्वयनका लागि नेपाल सरकारलाई ज्ञापनपत्र, ध्यानाकर्षण गराउँदै शान्तिपूर्ण संघर्षका माध्यमबाट पटक–पटक आग्रह गर्दासमेत सरकार, सत्तापक्ष एवं प्रतिपक्ष थरुहट आन्दोलनका मागप्रति संवेदनशील हुन सकेको आरोप लगाएको छ । यसबाट नेपाली जनसमुदायमा पर्न गएको असहजताका लागि मोर्चा क्षमाप्रार्थी रहेको र उत्पन्न सबै परिस्थितिको जिम्मेवारी नेपाल सरकार रहेको बताइएको छ ।
मोर्चाले सांसद रेशम चौधरीको रिहाइ तथा टीकापुर घटनामा फसाइएका निर्दोषहरुलाई रिहाइको माग गर्दै आएको छ । टीकापुर घटनाको विषयमा सरकारले गठन गरेको पूर्व न्यायाधीश ग्रीषचन्द्र लालको संयोजकत्वमा गठित न्यायिक समिति र गृहमन्त्रालयद्वारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन हालसम्म सार्वजनिक गर्न पनि माग गरेको छ ।