भुकम्पका घाइतेको उपचारको लागि भेरी अस्पताल नेपालगञ्ज डेलिकेटेड अस्पताल

सदरलाइन संवाददाता १८ कार्तिक २०८०, शनिबार ०९:०३
 

नेपालगञ्ज : शुक्रबार राती जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका घाइते भएकोको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जलाई तयारी अवस्थामा राखिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भुकम्पमा परेका गम्भीर घाइतेको उपचारका लागि बाँके प्रशासनले शनिबार बिहान ३ः२१ बजे बाटै तयारी थालेको जानकारी दिए ।

उनले भेरी अस्पताल नेपालगञ्जलाई भुकम्पका विरामीको उपचारको लागि डेडिकेटेड अस्पताल बनाइएको बताए । व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरूको आफन्तजनको सहजताको लागि पनि स्वास्थ्यकर्मी नरेश श्रेष्ठलाई फोकलपर्सन तोकिएको उनले बताए ।

प्रजिअ पोखरेलले भेरी अस्पतालमा ८०, सैनिक अस्पताल २० र प्रहरी अस्पतालको ५ बेड गरी १०५ वटा बेड तयारी अवस्थामा राखिएको र बिरामीको चाप र आवश्यकताका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्ज साथै अन्य निजि अस्पतालहरुलाई पनि तयारी अवस्थामा राखिएको जानकारी दिए ।

भुकम्पमा परेर उपचारको लागि नेपालगञ्ज आउने विरामीका लागि नेपालगञ्ज उपमहानगर पालिकाले निशुल्क ५ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको उपमहानगरको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।


बिरामीको उपचारमा कमी आउन नदिनको लागि पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ औषधि उपकरणको प्रबन्ध मिलाइएको प्रजिअ पोखरेलले बताए ।

हेलिकप्टरबाट आउने बिरामीको लागि रांझा विमानस्थल र आर्मीको हेलिप्याडमा २–२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । रगतको मौज्दात रहेको र अपुग भएमा फ्रेस रगत आपूर्तिको लागि सशस्त्र प्रहरीको एक टिम तयारी अवस्थामा राखिनुको साथै रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको छ ।

यसैबीच भेरी अस्पताल नेपालगञ्जमा भुकम्पका घाइतेहरु उपचारको लागि आउने क्रम सुरु भएको छ । जाजरकोट–३ खलंगाका ४८ वर्षिय बिमलकुमार कार्कीलाई जाजरकोटबाट एम्बुलेन्समा नेपालगञ्ज उपचारको लागि पुराईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भुकम्पले घाइते एक जनाको भेरी अस्पतालमा मृत्यु

१८ कार्तिक २०८०, शनिबार ०९:०३
नेपालगञ्ज : शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी घाइते भएका एक जनाको भेरी अस्पतालमा मृत्यु भएको छ । उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल ल्याउनेक्रममा जाजरकोट नलगाड १ पालीका ३३ बर्षीय टेकबहादुर पुनको निधन भएको हो । हेलिकप्टरबाट उपचारका लागि यहाँ ल्याइएका पुनलाई भेरी अस्पताल लग्नासाथ चिकित्सकले मृत घोषित […]