सदरलाइनडटकम,
सुर्खेत : सुर्खेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । नेपालगञ्जबाट सुर्खेतको जामुने बजारतर्फ गइरहेको जीप गुर्भाकोट नगरपालिका–९ झुल्केमा शुक्रवार बिहान तीन बजे दुर्घटना हुँदा सुर्खेत सिम्ता गाउँपालिका–९ का २४ वर्षीय भूपाल खत्रीको मृत्यु भएको छ । उनको मेहलकुना अस्पतालमा उपचारका क्रममा शुक्रवार मृत्यु भएको हो ।
दुर्घटनामा जीप चालक सिम्ता–९ कै २६ वर्षीय जीवन पुन, वडा नम्बर ५ का १९ वर्षीय जयबहादुर अधिकारी, ३० वर्षीय सुर्यबहादुर रोकाय, २८ वर्षीय ईश्वर गिरी र २२ वर्षीय वीरुनाथ योगी घाइते भएका छन् ।
तीमध्ये चालक पुनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जनाकारी दिए । लु १ ज ४०७९ नम्बरको जीप अनियन्त्रित भई सडकको बायाँ भित्तामा ठोक्किएको प्रहरी नायब उपरीक्षक रावलले बताए ।
