सदरलाइनडटकम,
नेपालगञ्ज : पुष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आइतवार समापन गरिँदैछ । पुष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आइतवार व्रत समापन गर्न लागेका हुन् ।
त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदारखण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्णहोस् भनी भगवतीलाई अर्घ्य दिइन्छ ।
सय रोटी व्रतालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । धार्मिक मान्यताअनुसार स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नुनै स्वस्थानी पूजा हो ।
उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रत कथामा उल्लेख गरिएको छ ।