सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाकामा शुक्रबारदेखि अन्तर विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सुरु भएको छ । बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथकले एक औपचारिक कार्यक्रमका बीच नरैनापुर–४ खोदवाँमा सो प्रतियोगिताकोे उद्घाटन गरेका हुन ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तीन दिनसम्म चल्ने प्रतियोगितामा नरैनापुरका सामुदायिक स्कुल र मदरसाले भाग लिएको शाखा प्रमुख लक्ष्मीकान्त मिश्रले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै सांसद् अथकले नरैनापुरलाई मूलप्रवाहमा ल्याउन अधिकतम् प्रयास भइरहेको वताए । उनले नरैनापुर विकास पथमा लम्कँदै गएको दाबी गर्दै यसै आर्थिक वर्ष भित्र विजुली बल्ने जानकारी दिए ।
हुलाकी सडकको काम पनि यसै वर्ष भित्र सकिने बताउँदै अथकले घोरदौरियादेखि अगैयासम्मको सडक पनि कालोपत्रे हुने बताए । गाउँपालिकाका अध्यक्ष शाहले पढाई संगसंगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई अग्रसर गराउन प्रतियोगिता गरिएको बताए । उनले शैक्षिक अवस्था सुधारको लागि गाउँपालिकाले अथेष्ट प्रयास गरिरहेको स्पष्ट पारे ।
प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले विद्यार्थीहरुको क्षमता विकासका लागि प्रतियोगिता गरिएको बताए । कार्यक्रममा नेकपाका नेता अतहर हुसेन फारुकी, वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य, जमुनी प्राविका प्रधानाध्यापक अमरलाल यादव, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक मानबहादुर बिसी लगायतले आफ्नो भनाई राखेका थिए ।