युक्रेनी विमान आफूले खसालेको इरानको स्वीकारोक्ति

२६ पुष २०७६, शनिबार १४:५०
 

सदरलाइनडटकम,
काठमाण्डौ : युक्रेनी विमान आफ्नो आक्रमणका कारण दुर्घटनामा परेको इरानले बताएको छ । इरानको आर्मीले आफ्नो तर्फबाट प्रहार भएको मिसाइल लागेका कारण युक्रेनी विमान खसेको बताएको इरानको राष्ट्रिय टेलिभिजनले जनाएको छ । तर सो आक्रमण नियतबस नरहेको इरानी सेनाको भनाई छ ।
शनिवार बिहान जारी गरिएको वक्तव्यमा मानवीय त्रुटीका कारण भएको आक्रमणले युक्रेनी विमान दुर्घटनामा परेको उल्लेख गरिएको छ । इरानी राष्ट्रपति हसन रुहानीले ट्वीट गरेर घटनाप्रति गम्भीर दुःख व्यक्त गरेका छन् । यसअघि इरानले आफ्ना कारण विमान नखसेको दाबी गर्दै आएको थियो ।
यस्तै इरानमा १७६ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनाको कारणबारे अहिलेनै निष्कर्षमा पुग्न सक्ने अवस्था नरहेको युक्रेनले पनि बताएको थियो । युक्रेनको विमान गएको बुधवार इरानको राजधानी तेहरानबाट उडेको केहीबेरमै दुर्घटनाग्रस्त भएको थियो । विमानमा रहेका सबै १७६ जनाको मृत्यु भएको थियो ।



सोही बिहान इरानले इराकमा रहेका अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर मिसाइल आक्रमण गरेको थियो । पश्चिमा राष्ट्रले इरानले प्रहार गरेको रकेटकै कारण विमान दुर्घटनामा परेको बलियो प्रमाण रहेको बताएका थिए ।
लडाकु विमान ठानेर इरानले युक्रेनी विमानमाथि आक्रमण गरेको हुन सक्ने अमेरिकी सञ्चारमाध्यमले बताएका थिए । यस्तै विमानमा प्रोजेक्टाइल ठोक्किएको देखिएको दाबीसहित भिडियो फुटेज पनि सार्वजनिक भएको छ । (एजेन्सी)

Next Post

सुदूरपश्चिमका पहाडी जिल्लामा निरन्तर हिमपात

२६ पुष २०७६, शनिबार १४:५०
सदरलाइनडटकम, डडेल्धुरा : हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । बढ्दो हिमपातले सडक अवरुद्ध भएपनि सडक सफा गर्ने प्रभावकारी व्यवस्था हुन नसक्दा यात्रुहरु हैरान भएका छन् । सुदूरपश्चिमका पहाडी जिल्लालाई जोड्ने मुख्य राजमार्गमध्येको भीमदत्त राजमार्ग पछिल्लो समय हिमपातका कारण लामो समयसम्म अवरुद्ध हुने […]