सदरलाइनडटकम,
बुटवल : गृहकार्य नगरेको भन्दै रुपन्देहीमा एक शिक्षकले मरणासन्न हुनेगरी कुटपिट गर्दा विद्यार्थी गम्भीर घाइते भएका छन् । रुपन्देहीको सम्मरमाई गाउँपालिका वडा नम्बर ६स्थित ज्ञानदिप बोर्डिङ स्कुलका विद्यार्थी तौफिक धुनियालाई शिक्षकले कुटेर गम्भीर घाइते बनाएका हुन् ।
गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरइले कक्षा पाँचमा अध्ययनरत विद्यार्थी धुनियालाई कुटपिट गरेका थिए । शिक्षकको कुटाइबाट गम्भीर बनेका धुनियाको आँखामा ठूलो चोट लागेको छ । विद्यार्थी कुटपिट गर्ने शिक्षक बरई भने फरार छन् । बुधबार भएको उक्त घटना शनिबारमात्र सार्वजनिक भएको हो । विद्यार्थी धुनियालाई कुटपिट गरेकै दिनदेखि एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ ।
घाइते विद्यार्थीको भैरहवास्थित युनिर्भसल मेडिकल कलेजमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकालले विद्यार्थी कुट्ने शिक्षकको खोजी भइरहेको जानकारी दिए । अभिभावकले भने यसरी मरणासन्न हुनेगरी विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न माग गरेका छन् ।