सदरलाइनडटकम,
दाङ : नृत्यको महासंग्राम डान्स आइकन सिजन थ्रीको शुभारम्भ गरिएको छ । आइतवार पत्रकार सम्मेलन गरेर सिजन थ्रीको शुरुवात भएको जानकारी दिइएको छ । डान्स आइकनका निर्देशक विष्णु कुमार देवकोटाले यसमा नेपालभरीबाट सहभागी हुन पाउने बताए । प्रदेश पाँचका सबै जिल्लामा डान्स आइकनको टिम स्थलगत पुग्ने र अन्य जिल्लाका सहभागिले भने अनलाईनबाट फारमभरी सहभागीता जनाउन सक्ने उनले बताए ।
डान्स आइकनका सहल्लाकार केशव आचार्यको अध्यक्षता तथा वरिष्ठ कलाकार मथुरा प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन भएको थियो । पत्रकार सम्मेलनमा डान्स आइकनका निर्देशक देवकोटाले सिजन थ्रीको पहिलो चरणको छनौट आउँदो माघ महिनाबाट गरिने र अन्तिम विजेता घोषणा नयाँ वर्षको अवसर पारेर बैशाषमा घोषण गरिने जानकारी दिए ।
विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगत पुरस्कार पाउने छन् भने २० वटा म्युजिक भिडियोमा खेल्ने अवसर पाउने देवकोटाले बताए । डान्स आइकन सिजन थ्रीको टाइटल स्पोन्सरका रुपमा अभियान वस्नेत रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले यस क्षेत्रमा यस्तो कार्य हुनु ठूलो कुरा भएको भन्दै कला साधन मात्र नभएर साधनपनि भएको बताए ।
यस्तै कार्यक्रमका विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ प्रदेश पाँचका संयोजक तथा दाङ जिल्ला अध्यक्ष सविन प्रियासनले राम्रो प्रतियोगिलाई आफ्नो गितको म्युजिक भिडियोमा खेल्ने अवसर प्रदान गर्ने बताए । आफ्नो पनि गित संगितमा रुची भएको भन्दै उनले एक जना पुरुष र एक जना महिला सहभागीलाई उक्त अवसर प्रदान गर्ने जानकारी दिए ।