कोहलपुरमा महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता शुरु

सदरलाइन संवाददाता २७ माघ २०८०, शनिबार १४:४१
 

नेपालगञ्ज : सुशील कोइराला मेमोरियल यु–१९ महिला राष्ट्रिय टी–२० क्रिकेट च्याम्पिनसीपलाई नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरमै राखेर यसलाई संस्करणको रुपमा अगाडि बढाउने प्रयास शुरु भएको छ ।

कोहलपुर नगरपालिकाको आयोजना, कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापन र क्यानको सहकार्य र प्राविधिक सहयोगमा शनिबारदेखि कोहलपुरस्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उदघाटन समारोहमा सहभागि क्यानकै पदाधिकारीले सुशील कोइराला मेमोरियल यु–१९ महिला राष्ट्रिय टी–२० क्रिकेट च्याम्पिनसीपलाई अर्को वर्षदेखि (क्यान)को वार्षिक क्यालेन्डरमै राख्ने प्रतिबद्धता जनाएका हुन् ।

क्यानका केन्द्रीय कोषाध्यक्ष पदम बहादुर खड्काले यो प्रतियोगितालाई क्यानको क्यालेनडरमा राखेर प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रियस्तरका प्रतियोगिताहरु संचालन गरिने प्रतिबद्धता जनाए ।

‘महिला राष्ट्रिय टी–२० क्रिकेट च्याम्पिनसीप प्रतियोगिता आयोजना गरेर ओझेलमा पर्न थालेको अन्तराष्ट्रिय क्रिकेट मैदानलाई चर्चामा ल्याउने प्रयास अत्यन्तै सकारात्मक छ उनले भने, ‘यसको पहिचान जोगाइ राख्न खेल गतिविधिसँगै भौतिक संरचनाहरुले पनि पूर्णता पाउन जरुरी। यसमा राज्यको ध्यान जावस् ।’

लुम्विनी, कर्णाली र सुदूरपश्चिमको प्रमुख हवको रुपमा रहेको कोहलपुर क्रिकेट मैदान यहाँको पहिचान भएको पनि उनले बताए । संविधान सभा सदस्य तथा पूर्व मन्त्री अमर सिंह पुनले खेल मैदानमात्र भएर नहुने भन्दै राष्ट्रियस्तरका प्रतियोगिता कोहलपुर क्रिकेट मैदानमा हुनु आवश्यक रहेको बताए ।


उनले भने, ‘पालिका आफ्नै पहलमा राष्ट्रियस्तरको प्रतियोगिता गर्नु आफैमा चुनौतिपूर्ण हो । कोहलपुर नगरपालिकाले खेलकुदको क्षेत्रमा गरेको लगानी अत्यन्तै स्रहानीय छ । यसले क्रिकेट मैदानको उपयोगिताको समेत पुष्टि गरेको छ ।’

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले क्यानको महत्वपूर्ण सहयोगका कारण राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता आयोजना गर्न सफल भएको बताए। उनले क्यानको वार्षिक क्यालेन्डरमा समावेश गरेर यस्ता प्रतियोगिताहरुलाई संस्करणका रुपमा अगाडि बढाउने योजनामा आफु रहेको सुनाए ।

‘पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय फुटवल तथा क्रिकेट जस्ता खेलकुद गतिविधिलाई पालिकाले कोहलपुरको पहिचानका रुपमा अगाडि बढाउन चाहेको छ उनले भने,‘यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा ठूलो भूमिका निर्वाह गर्छ भन्ने हाम्रो विश्वास छ ।’

कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले बाँके क्रिकेटरको उर्वरभूमि भएपनि पछिल्लो समय भने नयाँ खेलाडी उत्पादन नहुँदा खेलाडीहरुको अभाव सिर्जना भएको बताइन् । कार्यक्रमका सभाध्यक्ष नगर प्रमुख आचार्यले बलिङ र कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य पुनले ब्याटिङ गरेर प्रतियोगिताको उदघाटन गरेका थिए । उनले नयाँ खेलाडी उत्पादनकै लागि पालिकाले यस्ता प्रतियोगितालाई प्राथमिकता दिएको बताइन् ।

उदघाटन कार्यक्रममा नेपाल भलिवल संघका केन्द्रीय सचिव मंगल श्रेष्ठ, क्यानका लुम्विनी प्रदेश सदस्य दुर्गा थापा, क्रिकेट संघ बाँकेका अध्यक्ष सरोवर प्रसाई, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भत्केको पाँच दशकपछि पेडारी नालामा पुल निर्माण शुरु

२७ माघ २०८०, शनिबार १४:४१
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरी र बि गाउँ जोड्ने गडगैँचा (पेडारी) नालामा पुल भत्किएको करिब पाँच दशकपछि नयाँ पुल निर्माण शुरु भएको छ । तत्कालिन पुनर्वास कम्पनीले वि.सं २०२५ सालतिर निर्माण गरेको पुल एक दशक नपुग्दै नालमा आएको बाढीले भत्काईदिएको बिगाउँ प्लट नम्बर २० का ७५ वर्षीय लक्ष्मण […]