सदरलाइनडटकम,
नेपालगञ्ज : अयोध्यास्थित विवादित रामजन्म भूमिबारे भारतीय सुप्रिम कोर्टले दिएको फैसलालाई दृष्टिगत गर्दै ‘सील’ गरिएको नेपालगञ्ज–रुपईडिहास्थित जमुनहा नाका खुकुलो पारिएको छ । पैदल ओहोरदोहोर गर्न दिइएपनि खुल्ला भने गरिएको छैन ।
भारतीय सुरक्षाकर्मीले अत्यावश्यकीय कामका लागि जान थालेका व्यक्तिलाई भारततर्फ जान दिएका छन् । एम्बुलेन्सलाई जान छुट दिइरहेको भारतीय सुरक्षाकर्मीले आइतवार बिहानैदेखि विशेष कामका लागि भारत जान थालेकाहरुलाई छोडेको इलाका प्रहरी कार्यालय जमुनहाका ईञ्चार्ज प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताए ।
कामका लागि भारत जान थालेका धेरै मानिसहरु जमुनहा नाकामा अलपत्र परेपछि भारतीय पक्षले उनीहरुलाई जान दिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अत्यावश्यक काम नरोकिएको बताए । नाका सुचारु गर्ने विषयमा कुरा नभएको भन्दै उनले जरुरी कामका लागि जान थालेका व्यक्तिलाई जान उनीहरुले जान दिएको जानकारी दिए ।
अयोध्याको विवादित जग्गामा राम मन्दिर बनाउन दिने र बाबरी मस्जिदलाई अर्को ठाउँमा जग्गा दिने भारतीय सर्वोच्च अदालतको फैसलापछि सुरक्षा चुनौतीहरु देखिनसक्ने आकलन गर्दै उत्तरप्रदेशसँग जोडिएको नेपाली नाका सील गरिएको थियो ।