सदरलाइनडटकम
२१ असोज, नेपालगन्ज : बाँकेमा बिहीबार एक किशोर र एक महिलाको शव भेट्टिएको छ । दुबैको शवको प्रकृति हेर्दा हत्याको आशंका प्रहरीको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सरोज पौडेलले दिएको जानकारी अनुसार कम्दी–६ मलैपुरमा रहेको अडहरबारीमा महिलाको हत्या गरिएको अवस्थामा लास फेला परेको हो ।
हत्या गरिएकी महिला कम्दी–९ छत्रहवाकी शान्ति बुढा रहेको प्रहरीले जनाएको छ । मृतक बुढाको घरपरिवारले उनी औषधि किन्न भनेर बुधबार साँझ करिब साढे चार बजेतिर घरबाट निस्किएकी थिईन । उनको शव बिहीबार दिउसो अडहर बारीमा भेटिएको थियो ।
महिलालाई अडहर बारीभित्र मृतक महिलाको शव नाङगो अवस्थामा हत्या गरेर फालिएको पाइएपछि प्रहरीले बलात्कार गरेर हत्या गरेको आशंका गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा एसपी टेकप्रसाद राईले मृतक माथि बलात्कार भएको हो की होइन भनेर मेडिकल रिपोर्ट आएपछि मात्र थाहा हुने जानकारी दिए ।
मृतकको सुरुवालले घाँटी र खुटा बाधेर हत्या गरिएको जस्तो देखिने प्रहरीले जनाएको छ । हत्या संग्लन भएको आशंकामा ३ जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । शान्तिका २ छोरीहरु रहेका छन् । शव फेला परेको स्थान २ सय मिटर वरपर कुनै वस्ती छैन । घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै एसपी राईले सो घटनामा संलग्नहरु छिटै नै पक्राउ पर्ने दावी गरे ।
यसैगरी बाँकेको नौवस्ता–७ सुतैंयामा एक युवकको हत्यागरी खाडलमा गाडिएको अवस्थामा फेला परेको छ । घर लिपपोत गर्ने माटो लिन गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक युवक नौवस्ता–७ का १७ वर्षिय सुभाष शाही रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका ईञ्चार्ज प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए । गत असोज १७ सुतैंया कै गाउँमा भएको एउटा विवाहको पार्टीमा सामान्य झगडाका कारण सो हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसंधानले देखाएको छ ।
‘विवाहमा मृतक शाहीसंग नौवस्ता कै दिनेश महत र नन्द बहादुर पुनका बीचमा सामान्य भनाभन हुने गरी झगडा भएको देखियो त्यसै झगडाका कारण मृतकलाई छातिमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको पाएका छौ’–डिएस्पी काफ्लेले भने । मृतकको शव माटोमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो । घटनामा संलग्न महत र पुन फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी काफ्लेले जानकारी दिए । उनीहरुको खोजी तीब्र पारिएको उनले बताए । घटनामा संलग्न भएको भन्दै १५जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।